कनकाई । नेपाल बीमा प्राधिकरणले झापाको कनकाई नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

बिहीवार सम्पन्न उक्त कार्यक्रममा बीमाको महत्व, प्रकार, प्राधिकरणका काम, बीमा गर्दा ध्यान दिनुपर्ने विषयहरू, दाबी प्रक्रिया तथा उजुरी प्रणालीबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश प्रमुख विनोदकुमार पोखरेलले बीमा क्षेत्रका विभिन्न पक्षबारे प्रकाश पार्दै बीमाले आर्थिक सुरक्षामा खेल्ने भूमिकाबारे स्थानीय सरोकारवालालाई अवगत गराए।


नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बीमाप्रति स्थानीयवासीको रुचि बढ्दै गएको बताउँदै यस्ता कार्यक्रमले झनै जनचेतना फैलाउने विश्वास व्यक्त गरे। नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले बीमाले जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने भन्दै यसको प्रभावकारी कार्यान्वयनमा स्थानीय तहले सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरिन्।


कार्यक्रममा सहभागीहरूले बीमासम्बन्धी आफ्ना जिज्ञासा राखेका थिए। उनीहरूले दाबी प्रक्रिया, बीमा कम्पनीको विश्वसनीयता, गाउँस्तरमा बीमा पहुँच विस्तारलगायत विषयमा प्रश्न गरेका थिए।
नेपाल बीमा प्राधिकरणले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।