झापा । वरिष्ठ संगीतकार रञ्जित गजमेर र शिक्षा तथा समाजसेवी जयनारायण ढुंङालाई यस वर्षको ‘विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८१’ प्रदान गरिने भएको छ।


गोर्खा फाउण्डेशन नेपालको आयोजनामा आगामी जेठ ३१ गते बिर्तामोडको सिटी सेन्टरमा एक विशेष समारोहको आयोजना गरी उनीहरूलाई सम्मान गरिने फाउण्डेशनका अध्यक्ष वीरु दर्नालले जानकारी दिए।


इतिहासमा गोरखाका राजा पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका क्रममा आर्थिक सल्लाह तथा युद्ध सामग्रीको सुझाव दिएर सहयोग पुर्याएका दलित समुदायका प्रेरणाश्रोत विसे नगर्चीको नाममा स्थापित यो सम्मान २०८० देखि प्रदान गरिँदै आएको छ। अध्यक्ष दर्नालका अनुसार यो दोस्रो संस्करण हो र आगामी वर्षहरूमा पनि निरन्तरता दिइने छ।

फाउण्डेशनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रोशन नेपालीका अनुसार विभिन्न क्षेत्रका विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गर्दै विसे नगर्चीजस्ता ऐतिहासिक पात्रको योगदानलाई वर्तमान पुस्तासम्म पुर्याउने उद्देश्यले यो कार्यक्रमको परिकल्पना गरिएको हो।

महासचिव सुवास तिखत्रीका अनुसार सम्मानका लागि हरेक वर्ष कम्तीमा एक जना झापा जिल्लाबाट अनिवार्य रूपमा छनोट गरिन्छ। यसपटक एक जना झापा र एक जना बाहिरबाट छनोट गरिएको जानकारी उनले दिए।
दार्जिलिङ निवासी वरिष्ठ संगीतकार रञ्जित गजमेरले नेपाली चलचित्र क्षेत्रमा अमिट छाप छाडेका छन्। ‘बाँसुरी’, ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘चिनो’, ‘दर्पण छायाँ’ जस्ता दर्जनौं चलचित्रमा कालजयी संगीत दिएका गजमेर सन् १९७० को दशकमा रेडियो नेपालमा काम गर्दै गर्दा भारतीय चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए। उनले नेपाली मादललाई पहिलोपटक बलिउडमा परिचित गराएका थिए। वलिउडका चर्चित संगीतकार आरडी वर्मन (पञ्चम दा) का विश्वासपात्र बनेर उनीसँग लामो समयसम्म सहकार्य गरेका थिए।
त्यस्तै, झापाको बिर्तामोड निवासी समाजसेवी जयनारायण ढुंङानाले शिक्षा तथा सामाजिक सेवामा विशेष योगदान दिएका छन्। नर्सरीदेखि स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुने कनकाई क्याम्पस बिर्तामोडका संस्थापक रहेका ढुंङानाले झापा र इलामको शान्तिपुर क्षेत्रमा मन्दिर, पूल, बाटो, आर्यघाट, आराम गृह जस्ता संरचना निर्माणमार्फत सामाजिक कामलाई निरन्तरता दिँदै आएका छन्।




