विर्तामोड । झापाली पत्रकार महिलाहरूको साझा संस्था नारी सञ्चारगृहले १२ वर्षको अवधिमा ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ। आइतबार विर्तामोडको सिद्धार्थ होटलमा आयोजित कार्यक्रममा संस्थाकी अध्यक्ष रेजिना गौतमले उक्त कोषको घोषणा गर्दै दाताहरूको योगदान अझै बढ्दै गएको जानकारी दिइन्। कोष घोषणा सभामा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्य रहेको थयो ।


संस्थाका संस्थापक अध्यक्ष सावित्रा दाहालका अनुसार, २०७४ देखि ७७ सम्मको कार्यकालमा २५ लाखको लक्ष्यसहित सुरु गरिएको कोष अभियानलाई अम्बिका भण्डारी नेतृत्वले १२ लाख थपेर पूरा गरेका थिए। यस कोषबाट समस्यामा परेका पत्रकार महिलालाई राहत र लेखनवृत्तिका माध्यमबाट सहयोग मिल्नेछ।


संस्थाका पूर्व अध्यक्ष अम्बिका भण्डारीका अनुसार, नारी सञ्चारगृहको स्थापना महिलालाई पत्रकारिता सिकाउन र पेशामा टिकाउनका लागि गरिएको हो। अहिले ५० जना सदस्य रहेको संस्थाले दुई वर्षमा एक लाखको साधना पत्रकारिता पुरस्कार र २५ हजारको नारी सञ्चार प्रोत्साहन पत्रकारिता पुरस्कार स्थापना गरेको छ। यी पुरस्कारले पत्रकार महिलाको आत्मसम्मानमा वृद्धि गर्ने विश्वास गरिएको छ।




