काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल समूहले वडा तहसम्मै कमिटी बनाउन ‘पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा गरेको छ । साथै पार्टी एकता गम्भीर संकटमा रहेको भन्दै २ जेठ २०७५ लाई आधारमा मानेर एकतामा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई आह्वान समेत गरेको छ ।
अध्यक्ष ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्यलाई ६ महिना निलम्बन गरेपछि नेपाल समूहले स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको थियो । शुक्रबार र शनिबार बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नाराका साथ अभियान घोषणा गरेको हो ।
दुई महिने अभियानका क्रममा वडा तहसम्म पार्टी र जनसंगठनका संगठन बनाउने नेता रघुजी पन्तले जानकारी दिए । अधिवेशनबाट निर्वाचित कमिटीहरुलाई बाइपास गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले समानान्तर कमिटीहरु बनाएकाले त्यसको प्रतिरोध गर्नु बाध्यात्मक कदम भएको उनले बताए । ‘जहाँ-जहाँ निर्वाचनबाट आएका कमिटीहरु छन्, उनीहरुले आफ्नो काम गर्छन् र तलसम्म गएर कमिटीहरु बनाउँछन्,’ बैठकपछि नेता पन्तले भने, ‘जहाँ उहाँ ९केपी ओली०ले फेरि समानान्तर कमिटीहरु बनाउनुभएको छ, त्यहाँ पनि समानान्तर कमिटीहरु बन्छन् ।’
त्यसका लागि केन्द्रीय सदस्य र नेताहरुलाई पार्टी प्रतिनिधिका रुपमा जिल्ला जिल्लामा खटाइनेछ । यो अभियान पार्टी एकताको रक्षाका लागि भएको नेता योगेश भट्टराईले बताए । एमालेको एकता संकटमा रहेको भन्दै उनले भने, ‘आजको बैठकले दुई पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने २३ फागुनको सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठलाई आधार मानेर पार्टी एकतामा फर्कन अध्यक्षलाई आग्रह गरेको छ ।’
बैठकले पार्टी स्थापना दिवस, मनमोहन अधिकारीका स्मृति दिवस, मदन आश्रित स्मृति दिवसमा पार्टी एकताको पक्षमा विचार गोष्ठी लगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ । साथै ४ र ५ चैतमा भएको राष्ट्रिय कार्यकर्ता भेला तथा केन्द्रीय र स्थायी कमिटी सदस्यह्रुबाट आएको सुझावलाई समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिएको छ भने पार्टीमा उत्पन्न अन्तरविरोधको राजनीतिक, वैचारिक, संगठनत्मक पक्ष तथा पार्टीमा देखा परेको कार्यशैलीगत समस्यालाई समेटेर प्रशिक्षण सामाग्री बनाउने र देशभर पठाउने निर्णय समेत नेपाल समूहको बैठकले गरेको छ ।