Aamsanchar

पर्यटकीयस्थल भेडेटारमा निर्माणाधीन जिपलाइन अलपत्र

Author Image
बुधवार, भदौ १५, २०७९

धनकुटा – पर्यटकीयस्थल भेडेटारमा निर्माणाधीन जिपलाइन लगानी अभावले अलपत्र परेको छ। स्थानीय व्यवसायी आशिष र किरण राईले निर्माण थालेको जिपलाइनमा लगानीकर्ता अभावमा अलपत्र परेको हो। कोभिडपछि वित्तीय संस्थाले ऋण प्रवाहमा कडाइ र ब्याजदरको प्रतिशत बढाउँदा काम अघि बढाउन नसकिएको आशिषले बताए। भेडेटार एड्भेन्चर प्रालिमार्फत जिपलाइन निर्माण २०७६ मा सुरु भएको थियो। भेडेटार बजारनजिकै रहेको खर्कडाँडाबाट सुरु भई कार्कीछापमा ल्यान्डिङ हुने जिपलाइनको लम्बाइ १ हजार ५ सय मिटर छ। उक्त जिप लाइन सञ्चालनमा आए नेपालकै दोस्रो लामो जिपलाइन हुनेछ। नेपालको सबैभन्दा लामो जिपलाइन पोखराको सराङकोटदेखि हेम्जासम्म १ हजार ८ सय ५० मिटर दूरीको र पर्वतको कुश्मामा १ हजार ४ सय ८० मिटर लम्बाइको जिपलाइन सञ्चालनमा छ।भेडेटारमा निर्माणाधीन जिपलाइनका लागि खर्कडाँडामा टेकअप र कार्कीछापमा ल्यान्डिङ स्टेसनमा टावर निर्माण हुनेछन्। बीचमा केवलतार बिछ्याइन्छ। ग्राउन्ड लेभलसम्मको संरचना निर्माणमा ५ करोभन्दा बढी लगानी भइसकेको छ। आयोजनाको ३५ प्रतिशत काम भएको किरणले सुनाए। उनका अनुसार कुल लगानीमध्ये २० प्रतिशत सेयर पब्लिकलाई वितरण गरिएको छ। ८० प्रतिशतमध्ये ४० प्रतिशत किरण र ४० प्रतिशत आशिषको लगानी छ। भेडेटार घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गरी जिपलाइन सञ्चालनमा ल्याउने तयारी गरिएको हो। जिपलाइन पर्यटकीय र साहसिक खेलका रूपमा चिनिन्छ। प्राकृतिक सुन्दरताले भरिएको भेडेटार साहसिक पर्यटनको नयाँ तथा आकर्षण गन्तव्य बन्ने किरण दाबी गर्छन्।लगानी नहुँदा निर्माणको चरणमा काम रोकिएको आशिष बताउँछन्। डाँडाखर्कको करिब ८ रोपनी क्षेत्रफलको जग्गामा बेसलाइन धमाधम निर्माण भइरहेको थियो। कोभिड संक्रमण बढ्न थालेपछि वित्तीय संस्थाबाट ऋण प्रवाह रोक भएपछि त्यसको प्रत्यक्ष असर हामीलाई परेको उनले बताए। यदि कोभिड नभएको र वित्तीय संस्थाबाट लगानी जुटिसकेको भए यतिबेला जिपलाइन सञ्चालनमा आइसक्ने उनी बताउँछन्। कोभिडपछिको आर्थिक मन्दीको प्रत्यक्ष असर पर्यटन क्षेत्रका पूर्वाधार निर्माणमा परेको छ।

अहिले पनि लगानीका लागि विभिन्न वित्तीय संस्था धाइरहेका छौं। जिपलाइनको पिलरदेखि थप संरचना निर्माणका लागि ६ करोड रुपैयाँ लगानी आवश्यक हुने बताइएको छ। सञ्चालनमा आएको खण्डमा स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना हुने उनी दाबी गर्छन्।

भेडेटार आफैंमा चर्चित पर्यटकीयस्थल हो। घुम्नका लागि मात्रै सिजनको बेला दैनिक हजारौं संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन्। यहाँ आउने आगन्तुकको बसाइ लम्ब्याउन जिपलाइनले सहयोग पुग्ने सञ्चालकमध्येका एक किरण राईले बताए। भेडेटार बजारमै विगत केही वर्षदेखि अर्को जिपलाइन सञ्चालनमा छ।वल्र्ड वाइड ग्रुप नेपालले करिब तीन करोड रुपैयाँँको लागतमा जिपलाइन सञ्चालन गरेको हो। जिप लाइन सञ्चालन भएपश्चात् भेडेटार घुम्न आउने आन्तरिक तथा बाह्रय पर्यटकको बसाइ लम्बिने यहाँका होटल व्यवसायीहरूको भनाइ छ। पर्यटकहरू विशेषगरी यहाँ आउँछन्। घुमेपछि फर्किहाल्छन्। तर जिपलाइनले पर्यटकको बसाइ लम्बिने होटल एसोसिएसन अफ भेडेटारका पूर्वअध्यक्ष तथा होटल लावती कर्नरका सञ्चालन लीलाराज लावतीको भनाइ छ। जिपलाइनको निर्माण कार्य कोभिडपछि ठप्प भएको छ। सरकारले वित्तीय संस्थासँग समन्वय गरेर लगानीको वातावरण सिर्जना गरिदिनुपर्ने उनको भनाइ छ।भेडेटार साहसिक खेलका लागि प्रचुर सम्भावना भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बताए। ‘भेडेटार क्षेत्रमा लगानी गर्न निजी क्षेत्रका व्यवसायी उत्साहित छन्। गाउँपालिकाले निजी लगानीमैत्री नीति तथा कानुन बनाएर ठूला योजनालाई प्रोत्साहित गर्छ,’ उनले भने, ‘साहसिक खेल जिप लाइनले यहाँ आउने पर्यटकको बसाइ लब्याउँछ।’ भेडेटारमा साना ठूला गरी १ सय ५० होटल सञ्चालनमा छन् ।

Views: 280

प्रतिक्रिया (०)

सम्बन्धित खबर