Aamsanchar

महाकाली सन्धि राष्ट्रको हितमा भएको र मैले हस्ताक्षर गरेको थिए : घिमिरे

Author Image
बिहिवार, कार्तिक ३, २०७९

बिर्तामोड । नेकपा एमाले तर्फका झापा क्षेत्र नं. २ का उम्मेद्वारहरुले सञ्चार माध्ययमका सम्पादकहरुसँग अन्तरक्रिया गरेका छन् । संयुक्त निर्वाचन परिचालन समिति झापा क्षेत्र नं. २ को आयोजनामा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदका उम्मेद्वारहरुसँग अन्तरक्रिया भएको हो ।

नेकपा एमाले झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य देबराज घिमिरे, प्रदेशसभा सदस्य (२) १ का उम्मेद्वार एकराज कार्की र प्रदेशसभा सदस्य (२) २ का उम्मेद्वार चिन्तक पाठकले सम्पादकहरुसँग अन्तरक्रिया गरेका हुन् ।

नेकपा एमाले र राप्रपाले तालमेल गरी झापामा उम्मेदवारी दर्ता गरेपछि दुई दलको संयुक्त निर्वाचन परिचालन समिति बनेको छ । संयुक्त निर्वाचन परिचालन समितिको आयोजनामा भएको अन्तरक्रियामा राप्रपाको तर्फबाट कोही पनि उपस्थित भएका थिएनन ।

उम्मेद्वारहरुले सम्पादकका जिज्ञासाको जवाफ दिएका थिए ।

झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार घिमिरेलाई पत्रकारहरुले महाकाली सन्धी हस्ताक्षरका बिषयमा जिज्ञासा राखेका थिए । पत्रकारको जिज्ञासाको जवाफ दिदै घिमिरेले महाकाली सन्धी राष्ट्रको हितमा भएको बताए । उनले सन्धी गर्दाताका गरिएको सम्झौता पूर्ण कार्यान्वनमा नआएकाले समस्या सिर्जना भएको बताए ।
मनमोहन अधिकारी बिरामी भएका कारण पार्टीको पहिलो बरियताक्रममा रहेका बैकल्पिक केन्द्रीय सदस्यको हैसियतले घिमिरेले सन्धिको पक्षमा निर्णायक मत हालेका थिए । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धि गल्ती भएको स्वीकार गरिसकेका छन् ।

२०५२ साल माघ २९ गते नेपाल र भारत सरकारका प्रतिनिधीले हस्ताक्षर गरेको पञ्चेश्वर परियोजनासहितको एकिकृत महाकाली सन्धि २०५३ साल असोज ३ गते संसदको दुवै सदनको संयुक्त बैठकले अनुमोदन गरेको थियो ।

प्रदेशसभा तर्फका उम्मेदवार कार्कीले एक कार्यकाल सांसद भएर पनि कतिपय प्रतिवद्धता पूरा नगरेको भन्ने पत्रकारको जिज्ञासाको जवाफ दिदै बजेटको परिधिमा रहेर काम गर्नुपर्ने भएकाले भनेजति काम गर्न नसकेको स्वीकारे । अर्का प्रदेशसभा सदस्य पदका उम्मेद्वार पाठकले पत्रकारको जिज्ञासाको जवाफ दिदै आफूलाई हारको पर्यायका रुपमा चित्रित गर्नु असान्दर्भिक नभएको बताए ।

क्षेत्रीय निर्वाचन परिचालन समितिका संयोजक हरिचरण शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको औचित्य माथि प्रकाश एमाले झापा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख गोपाल काफ्लेले पारेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला प्रचार विभाग सचिव प्रदीप परियारले गरेका थिए ।

 

Views: 536

प्रतिक्रिया (०)