Aamsanchar

म हलुका ढंगले उम्मेदवार भएको होइन : स्वागत नेपाल 

Author Image
शुक्रवार, कार्तिक ४, २०७९

बिर्तामोड । झापा क्षेत्र नं. २ बाट संघीय संसद् प्रतिनिधि सभा सदस्य पदका लागि  स्वतन्त्र उम्मेदवारी दिएका स्वागत नेपालले आफू राजनीतिमा आउनु परेको कारण बारे  जानकारी गराएका छन् ।

आज बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर उनले आफ्ना कुराहरू पत्रकारहरू समक्ष राखेका हुन् ।

भ्रष्टाचारविरुद्ध जनताको तर्फबाट संसद् भित्रैबाट कारवाही शुरु गर्न, कुनै पनि पार्टीको ह्विप बिना राष्ट्र राष्ट्रियता र जनजिविका पक्षमा प्रभावकारी परिणाम निकाल्न, विकासका कामलाई दैनिक निगरानीमा तीब्र बनाउन, चरणवद्ध रुपमा खाका सहित अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय नीति तथा कार्यक्रमको बाटोबाट देशलाई हिँडाउन आफ्नो उम्मेदवारी रहेको र आफू हलुका ढंगले उम्मेदवार बन्न नआएको उनले बताए ।

लोकतन्त्रमा नागरिकले उम्मेदवार लाईनै भोट हालेर बहिष्कार गर्न पाउने अधिकार रहन्छ । तर त्यो अधिकारलाई दलहरूले आफ्नो कब्जामा राखेको र सर्वोच्च अदालतबाट निर्देशनात्मक आदेश गराउँदा पनि  राईटु रिजेक्टको कानुन नबनाएको र उक्त कानुन बनाएर कार्यन्वयन गराउन सकौं भरेर आफू राजनीतिमा होमिएको नेपालले बताए । उनले थप्दै भने यो कानुनको लागि १२ वर्ष देखि निरन्तर माग गर्दै आएको छु । त्यतिबेला मलाई बौलाहा भन्ने नेताहरूले अहिले यही विषयमा बोल्न थालेका छन् ।

कार्यकारी पदका लागि  प्रत्यक्ष निर्वाचन प्रणाली लागू गरिनु पर्छ । अदालती प्रहरीको व्यवस्था हुनुपर्ने, लोकतान्त्रिक कर प्रणाली, स्थानीय विकास निर्णय र सामाजिक कार्यमा प्राथमिकताको आधारमा सशरीर उपस्थित भएर भौतिक रूपमै झापा क्षेत्र नं। २ का जनताबीच रहेर कार्य सम्पन्न गर्ने, अन्यायमा परेका तथा आर्थिक रुपमा विपन्न व्यक्तिहरूलाई निःशुल्क कानूनी परामर्श तथा कानुनी उपचार व्यवस्था दिलाउन त्यसैगरी पदको आधारमा कर्मचारीहरू बीच भएको अवैज्ञानिक र असमान पारिश्रमिक र सेवा सुविधा अन्त्य गरि वैज्ञानिक समानुपाती दिलाउन आफ्नो उम्मेदवारी रहेको नेपालको भनाई रहेको छ ।

पहिलो चरणमा १८ देखि २४ वर्ष उमेरका युवायुवती हरुलाई अनिवार्य राष्ट्र– स्वयमसेवामा लगाई निशुल्क स्वास्थ्य शिक्षा र आवास उपलब्ध गराई हरेक दिन दुई घण्टा युवाहरुलाई पारिश्रमिक सहित सृजनशिल र उत्पादनमुखी कार्यमा लगाई आयात प्रतिस्थापन गरेर स्वाधिन अर्थतन्त्रको बाटो सुरु गर्ने लगायतका योजनाहरु नेपालले प्रस्तुत गरेका थिए ।

दलको अगाडी तपाई एक्लो स्वतन्त्रले जितेर पनि संसदीय प्रणालीमा तपाईले के गर्न सक्नु हुन्छ र भन्ने प्रश्नमा नेपालले प्रश्नको जवाफ निक्कै रोचक र घोचक तरिकाले दिएका थिए । उनले भने स्वतन्त्र म एक्लो होईन देशभरीमा दलहरुको भन्दा धेरै स्वतन्त्रको उपस्तिथी रहेको छ । प्रतिप्रश्न गर्दै उनले भने के निर्वाचनमा दलका नेताले मात्र जित्छन भन्ने छ ? ।

तपाई कुदै दलको अध्यक्ष रहनु भएको छ । तपाईको नाम निर्वाचन आयोगको आधिकारिक वेवसाईटमा रहेको छ भन्ने प्रश्नमा मेरो मात्र हो र रविन्द्र मिश्रको पनि नाम रहेको छ । रविन्द्र मिश्र अहिले कहाँ छन् । निर्वाचन आयोगले उसको नियम अनुसार अब निर्वाचन सम्पन्न भईसके पछि मात्र त्याहाँ बाट नाम हटाउछ । पहिले आवद्ध रहेको पार्टी निर्वाचनमा नजाने भनेपछि त्यो कुरा मलाई ठिक लागेन र म निर्वाचनमा उम्मेदवार भए त्यस पछि मलाई पार्टीले पदमुक्त गरेको छ । म अहिले विशुद्ध स्वतन्त्र बनेको छु । अब म सधै स्वतन्त्र नै रहन्छु ।

नेपाल यहाँका पुराना बासिन्दा भएपनि पढाई र रोजगारीको सिलशिलामा काठमाडौं बस्तै आएका थिए । झापाको बिर्तामोड–७ नेपाल टोलमा जन्मिएका नेपाल लेखक, पत्रकार, साहित्यकार, अध्यापक, सामाजिक अभियन्ता तथा अधिवक्ता  पनि हुन् । नेपालले आमसञ्चार पत्रकारिता र कानुन विषयमा एम ए एमसिजे र एलएलएम सम्मको अध्ययन गरेको  बताए ।

Views: 779

प्रतिक्रिया (०)