Aamsanchar

राष्ट्रिय स्वतन्त्र पार्टीले धुलाबारीमा गर्यो आमसभा, केन्द्रिय सभापति लामिछानेद्वारा सम्बोधन 

Author Image
शनिवार, कार्तिक १९, २०७९

मेचीनगर । झापाको क्षेत्र नं. १ मा  चुनावी सरगर्मी बढेको छ । निर्वाचन आयोगले दलहरूलाई आमसभा, कोणसभा गर्ने समयसीमा खुल्ला गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो आमसभा सम्पन्न गरेको छ । त्यस्तै अन्य दलहरूले पनि आमसभाको तयारी गर्दै गरेको पार्टी श्रोतले जनाएको छ ।

हिजो मेचीनगरको धुलाबारीमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना भएको आमसभालाई केन्द्रिय सभापति रवि लामिछानेले सम्बोधन गरेका थिए । सर्वसाधारणहरूको  निकै ठुलो उपस्थिति रहेको सभामा उनले झापा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट घण्टी चिन्ह लिएर प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओमनाथ भण्डारीलाई जिताउन मतदाता समक्ष अपिल गरेको चुनाव परिचालन समिति संयोजक मनोज गौतमले बताए ।

सम्बोधनको क्रममा सभापति लामिछानेले स्थानीय देखि राष्ट्रिय राजनीतिको बारेमा आफ्नो धारणा राखेका थिए ।  ‘राजनीतिक दलहरू सत्ता स्वार्थमा जो सुकै सँग पनि छिनभरमै मिल्न सक्ने र फुट्न सक्ने व्यवहार पटक पटक देखाइरहेका छन् । देश आज पनि गरिब छ । करिब २० प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनि रहेका छन् भने करिब ३० प्रतिशत जनता अझै पनि बहु आयामिक गरिबीको सिकार छन् । अर्थतन्त्र आयातमुखी र सङ्कटग्रस्त छ । देशभित्र रोजगारको व्यवस्था हुन नसक्दा ठुलो मात्राको सक्रिय जनसंख्या विदेशिनु परेको छ । तिनैबाट आर्जित रेमिटेन्सले देशको अर्थतन्त्र भरथेग गर्दैछ भने खलबलिएको पारिवारिक र सामाजिक संरचना तथा विदेशी भूमिमा मृत्युवरण गरेर काठको बाकसमा फर्किने शवहरूले त्यसको मूल्य चुकाइरहेको देखिन्छ । शिक्षा, स्वास्थ्य र आवास जस्ता आधारभूत सेवा सुविधाहरू सर्वसाधारणको पहुँच बाहिर वा असाध्यै महङ्गा भएका छन् । राज्यका निकाय तथा अंग हरूको अतिराजनीतिकरणले गर्दा बहुदलीय लोकतान्त्रिक व्यवस्था नै बदनाम हुन पुगेको छ । भ्रष्ट्राचार, बेथितिको कुनै सीमा छैन । संविधानवाद, विधिको शासन, शक्ति पृथकीकरणलाई लत्याइएको छ । कर्मचारीको बढुवा जस्तो सामान्य विषयमा पनि ठूला ठूला राजनीतिक सेटिङ चल्ने र ब्रिफकेस भरि पैसाको लेनदेन हुने कुराहरू बाहिरिन थालेका छन् । भ्रष्टाचारका ठुलठुला काण्डहरू सतहमा आइपुग्दा पनि छानबिन र कारबाही हुनुको साटो मिलेमतो हुने र भित्रभित्रै गुपचुप पार्ने गरिएको छ । त्यसमा मुछिएकाहरू हाँकाहाँकी सार्वजनिक रूपमा आफ्नो संलग्नता बयान गर्दै हिँड्ने गरेका छन् तर राज्य संयन्त्रलाई केवल मुकदर्शक बनाइएको छ । विधि अनुसार आफू चल्ने भन्दा पनि आफू चल्नका लागि विधि र संविधानलाई कोतर्ने काम भएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग तथा सर्वोच्च अदालत जस्ता नियामक तथा न्यायिक संस्थाहरू पनि राजनीति र विवादमुक्त रहेका छैनन् । यिनीहरूको विश्वसनीयतामा आम जनमनमा शड्ढा छ । व्यवस्था बदलियो तर जनताको अवस्था बदलिएन किनभने बदलिएको व्यवस्थामा केही बाहेक पात्र पनि फेरिएनन् ।’ प्रवृत्ति जस्ताको त्यस्तै रहयो अब हाम्रालाई होईन राम्रालाई भोट दिनु पर्नेमा लामिछानेले जोड दिएका थिए ।  

उम्मेदवार भण्डारीले आफ्नो बाचा पत्र पनि सार्वजनिक गरेका थिए । 

Views: 458

प्रतिक्रिया (०)