Aamsanchar

 जयपुरमा फुटबलको महौल, नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

Author Image
मङ्गलवार, माघ १५, २०८१

बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिकास्थित जयपुरमा आयोजना हुने आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८१ को खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिता यही माघ २१ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र मोरङ कानेपोखरी नव प्रगति समाजसेवा क्लब बीच प्रतिस्पर्धा हुनेछ।
दोस्रो क्वार्टरफाइनल खेल आयोजक नव ज्योति युवा क्लब र रेड हर्स एफसी, इलाम बीच हुनेछ। तेस्रो क्वार्टरफाइनलमा भारतको सिलिगुडी युनाइटेड र न्यु स्टार एफसी, सुनसरी भिड्नेछन्। अन्तिम क्वार्टरफाइनलमा प्लानिङ ब्वाइज, काठमाडौँ र मानेभञ्ज्याङ एफसी, दार्जिलिङ बीच खेल हुनेछ।

प्रतियोगिताको विजेताले नगद रु. २,२५,०००, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। उपविजेताले नगद रु. १,२५,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्लेयर अफ द म्याचले नगद रु. ७,००० पुरस्कार पाउनेछ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, र उदीयमान खेलाडीलाई नगद रु. १०,००० प्रदान गरिनेछ भने प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई रु. १५,००० पुरस्कार दिइनेछ।

एलिस सप्लायर्स मुख्य प्रायोजक रहेको यस प्रतियोगिताको आयोजन खर्च लगभग रु. ३२ लाख हुने अनुमान गरिएको छ। खर्च व्यवस्थापनका लागि सिजनल टिकट, गेट टिकट, विज्ञापन र दाताहरूको सहयोगबाट रकम संकलन गरिने आयोजकले जानकारी दिएका छन्।

प्रतियोगिताको संयोजन नव ज्योति युवा क्लबले गरिरहेको हो। २०४२ सालमा स्थापना भएको क्लबले खेलकुद, सांस्कृतिक र साहित्यिक क्षेत्रमा विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। क्लबले अघिल्लो संस्करणको बचत रु. २२ लाख रकमबाट आफ्नो कार्यालय भवन निर्माण गर्ने तयारी गरेको अध्यक्ष गोपाल पोखरेलले बताए।

गत वर्ष सातौँ संस्करणमा दार्जिलिङको मानेभञ्ज्याङ एफसीले बिर्तामोड युनाइटेड क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो।

प्रतियोगिता जयपुरस्थित आदर्श माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुनेछ। उद्घाटन खेल माघ २१ गते हुनेछ भने फाइनल खेल माघ २८ गते हुनेछ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष गोपाल पोखरेल, उपाध्यक्ष खेमराज श्रेष्ठ, सचिव मुकेश भट्टराई, र अन्य स्थानीय प्रतिनिधिहरूले प्रतियोगिताबारे जानकारी दिएका थिए। शुभकामना व्यक्त गर्दै आयोजकले प्रतियोगितालाई सफल बनाउन सबै पक्षको सहयोगको अपेक्षा गरेका छन्।

Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर