Aamsanchar

कनकाई नगरपालिका बालमैत्री नगर घोषणा, बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्दै ५३ सूचकहरू पुरा

Author Image
बिहिवार, वैशाख २५, २०८२

कनकाई । झापाको कनकाई नगरपालिका बालमैत्री नगर घोषित भएको छ। नगरको १२औं स्थापना दिवसको अवसरमा स्थायी शासनयुक्त पूर्ण बालमैत्री तथा खोप सुनिश्चित नगर घोषणा गरिएको हो।

सरकारले निर्धारण गरेको ५१ वटा सूचकमा दुई स्थानीय सूचक थप गरी कुल ५३ सूचकहरू पूरा गरेर कनकाईलाई बालमैत्री नगर घोषणा गरिएको कार्यक्रमका अध्यक्ष, नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले जानकारी दिनुभयो।

बालकल्याण अधिकारी उमानाथ ढकालका अनुसार कनकाई नगरपालिका झापाको तेस्रो र कोशी प्रदेशको पाँचौं बालमैत्री नगर बनेको हो। प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बालविवाह न्यूनीकरण, लागूऔषध नियन्त्रण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा कार्ययोजना बनाएर काम गरिने प्रतिबद्धता जनाउनुभयो।

यसअघि कनकाईले नगर क्षेत्रमा सुर्तिजन्य पदार्थको सेवन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै बन्द क्षेत्र घोषणा गरिसकेको छ।

बालमैत्री नगर घोषणा कार्यक्रमको उद्घाटन कोशी प्रदेशका खानेपानी तथा सिंचाइ मन्त्री एकराज कार्कीले गर्नुभयो। कार्यक्रममा लिम्बु, किरात, सन्थाल समुदाय, बालसञ्जाल, स्काउट, नौमती बाजा समूहहरूको सहभागितामा भृकुटी मावि दुर्गापुरबाट नगर कार्यपालिका भवन सम्म र्‍याली निकालिएको थियो।

बालसञ्जाल कनकाई नगर अध्यक्ष विजय तिवारीले बालबालिकाका हकमा नगरसँग सहकार्य गर्दै आएको र भविष्यमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो।

नगर कार्यपालिकाबाट बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने निर्णय २०७९ माघ १८ गते पारित भएको थियो। कार्यक्रममा स्वागत नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले गर्नु भएको थियो ।

Views: 310

प्रतिक्रिया (०)