Aamsanchar

भ्रष्टाचारमुक्त र सुशासनयुक्त देश निर्माणको एजेण्डासहित आज निर्वाचन

Author Image
बिहिवार, फागुन २१, २०८२

भ्रष्टाचारमुक्त र सुशासनयुक्त देश निर्माण गर्ने एजेण्डालाई केन्द्रमा राख्दै आज प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर मतदान हुँदैछ। जेनजी आन्दोलनपछिको विशेष राजनीतिक परिस्थितिमा हुन लागेको यस निर्वाचनप्रति आम नागरिकको चासो उच्च देखिएको छ। सबै राजनीति दलले आफ्नो घोषणापत्रमा भ्रष्टाचारमुक्त र सुशासनयुक्त देश निर्माण गर्ने एजेण्डा राखेका छन् । यो एजेण्डा विगतको निर्वाचनहरुमा पनि देखिएका थिए । निर्वाचन आयोगका अनुसार नेपालका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान भइरहेको छ। यस निर्वाचनमार्फत प्रत्यक्ष र समानुपातिक प्रणालीबाट प्रतिनिधिसभाका सदस्य चयन गरिनेछन्।

प्रत्यक्षतर्फ ‘पहिलो हुने निर्वाचित हुने’ प्रणालीअनुसार १६५ निर्वाचन क्षेत्रका लागि मतदान हुँदैछ भने समानुपातिकतर्फ ११० सिटका लागि मत खसालिनेछ। प्रत्यक्षतर्फ ६५ राजनीतिक दलले ६१ वटा निर्वाचन चिह्नमार्फत प्रतिस्पर्धा गरिरहेका छन्। यसतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी कुल तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन्।

समानुपातिक प्रणालीतर्फ भने एक हजार ३६३ पुरुष र एक हजार १ हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।

यसपटकको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता छन्। साथै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता पनि कायम गरिएको निर्वाचन आयोगले जनाएको छ।

मतदानका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् भने १४३ अस्थायी मतदानस्थल पनि निर्धारण गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ।

निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन ठूलो संख्यामा सुरक्षा जनशक्ति परिचालन गरिएको छ। सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी र ३४ हजार ५६७ सशस्त्र प्रहरी बल खटिएका छन्। त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागबाट एक हजार ९२१ जना तथा निर्वाचन प्रहरीका रूपमा एक लाख ४९ हजार ९० जना परिचालन गरिएको छ।

निर्वाचन सम्पन्न गराउन देशभर दुई लाख १५ हजार कर्मचारी खटिएका छन्। आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पु¥याइसकेको जनाएको छ।

यसपटकको निर्वाचनमा चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्थाले पर्यवेक्षण गर्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की तथा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतले मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आह्वान गरेका छन्।

गृहमन्त्री ओमप्रकाश अर्यालले पनि आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको बताउँदै निर्धक्क भएर मतदानमा सहभागी हुन मतदातासँग आग्रह गरेका छन्।

 

Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर