भिख मागेर जसोतसो घाम पानी छेक्न सक्ने बनाएको छाप्रो कनकाई नदिमा आएको बाढीले बगाएर लगेपछि घरबार विहीन बनेका शिवसताक्षीका एक परिवारको बिचल्ली भएको छ । उनिहरुले बस्नका लागि घर पाउन सकेका छैनन् । घर बनाउनका लागि जग्गा नहुँदा उनिहरुको पुर्नस्थापनाको टुङ्गो नभएको हो । केही दाताले उनलाई यस्तो आश्वासन दिएको ‘स्थानीय सरकारले तपार्ईलाई बस्नका लागि जग्गा दिन्छ भने, हामी घर बनाईदिन्छौ ।’ तर स्थानीय सरकारसंग यती कुरा राख्ने क्षमता उनिसंग छैन । भन्छिन, ‘मैले कसैलाई चिनेको छैन, म कसरी जाँउ ?, कसलाई भेटौ र मेरा कुरा राखौ ।’
घरबारै गुमाएर खुला आकासमा आउन बाध्य भएकी शिवसताक्षी नगरपालिका वडा नम्बर १० झापाकी तारा शेर्माको कथा यतिबेला सतहमा आउन थालेको छ । जस्का कारण झापाको भद्रपुर स्थित एकल महिलाका लागि मानव अधिकार र एविसी नेपाल नामक सामाजिक संस्थाका अगुवाले पिडितका अस्थाई छाप्रामै लगेर खाद्य र गैर खाद्यका बस्तुका सामग्री राहत दिए । लत्ता कपडा, खाद्यन्न लगायतका राहत पाउदा उनको बाहिरी मन खुसीनै देखिएपनि भित्री मन भने निक्कै कुडिएको देखिन्थ्यो ।
उनका ७ वर्षीय छोरी समृद्धी, ६ वर्षीय दिप्रती र अढाई वर्षका छोरा सन्दिपले दाताले खानेकुरा ल्याएको थाहापाएपछि खानलाई हाँपझाँप गरे । हुन पनि २ दिन देखी उनको अस्थाई छाप्रामा खानेकुरा नभएकै कारण आगो बलेको थिएन । राहत लिएर ताराका छाप्रामा पुग्दा उनका अढाई बर्षका छोरा भोकले रोइरहेका थिए । राहत लिएर गएको टोलीले सोध्यो ‘किन रोएको नानी ?’ ताराकी जेठी छोरीले समृद्धीले हतपत जवाफ दिइन ‘खान नपाएर ।’ मानव अधिकारका लागि एकल महिला झापाकी अध्यक्ष समेत रहेकी केन्द्रिय सचिव रेखा थापाले झोलाबाट बिष्कुट दिएपछि उनी रुन छोडे ।
राहत दिन आएको टोलीमा एबिसी नेपालकी अध्यक्ष कञ्चना ढकाल सिटौला, ईन्दरा न्यौपाने र देवीका बस्नेत पनि थिए । उनिहरुले तारा शेर्माका परिवारलाई खाद्यन्न लगायत लत्ता कपडा दिए । बाढीबाट विस्थापित अन्य परिवाराई पनि उनिहरुले साउनमा लगाउन हरियो, पहेलो चुरा दिए । सुत्केरीलाई न्यानो कपडा दिए । केटाकेटीलाई फलफुल दिए ।
‘खानेकुरा त दाताले ल्याईदिनुहुन्छ । तर अब कहाँ घर बनाएर बस्नु ?’ कनकाई नदिको बीच तिर देखाउँदै उनले भनिन्, ‘मेरो घर भएको ठाँउमा कनकाई नदिको बाढी छ । साँझ परेपछि छोरा छोरीले न्यानो घर खोज्छन् । यस्तो विपतमा म के गर्रौ ?’ तारा शेर्माका श्रीमान्को छ वर्ष अघि दम र प्यारालाईसिस रोगका कारण मृत्यु भयो । त्यसपछि छोरा छोरी हुर्काउने र पढाउने जिम्मा ताराको काँधमा आइलाग्यो ।
पाँचथरको माङजाबुङबाट बसाईं आएकै साल श्रीमान्ले छोडेर गएपछि बिहान बेलुकाको छाक टार्न उनलाई मागि खानुपर्ने बाध्यता पर्यो । यतिबेला पनि कनकाई धाममा पुजा अर्चनाका लागि आएका पुजारीबाट उनले चामल, रुपैयाँ मागेर जिवन धान्ने गरेकी छन् । लकडाउन यता मागि खान पनि बन्द भएको छ । नदिमा पुजा गर्न पुजारी नआएपछि त्यसको असर उनको भान्सा कोठामा पर्यो । स्थानीय भन्छन्, ‘तारा बहिनीको सारै ठुलो समस्या छ । कसैले उनको पुर्नस्थापना गरे उनका छोरा छोरी हुर्कीएर यतिबेला लगाएको गुन पछि तिर्ने थिए होला ।’ उनलाई यतिबेला हेरचाह गर्ने स्थानीय पदमवहादुर श्रेष्ठ हुन् । उनिभन्छन, ‘म पनि बाढीबाट विस्पापीत नै हुँ तर, तारा बहिनीको समस्या असामान्य छ ।’
बाढीले साविकको ठाँउबाट लालाबाला सहित तारालाई खेदाएपछि नेपाल रेडक्रस सोसाइटी झापाले त्रिपाल दिएर स्थानीयले अस्थाइ छाप्रा बनाएपछि त्यसैमा उनी बसेकी छन् । ‘सरकारी राहत छैन । टाढाबाट आएर चामल, लगाउने लुगा, रुपैयाँ दिनुभयो । नजिकको सरकारले हामी जस्ता बाढी पिडीतको वास्ता गरेको छैन ।’ उनले भनिन, ‘सरकारले सानो घर अट्ने जग्गा दिए कसैले घर बनाईदिन्थे । मेरा छोरा छोरीलाई त्यै न्यानो घरमा राखेर हुर्काउथे । पछि ठुला भएर कमाए भने अहिलेको गुन तिर्थे ।’
तारा शेर्माको परिवार कनकाई नदिले विस्थापित बनाएका अन्य परिवारको तुलनामा दयनीय छ । उनको व्यथा सुन्ने जो कोहिको पनि आङ जिरिङ्ग हुन्छ । उनि भन्छिन, ‘कमाउला, खाउला, छोरा छोरीलाई राम्रो शिक्षा दिउला भन्ने सोचेका थियौं । दैवले लोग्नेलाई चुढेर लग्यो । म एउटी अवला नारीले कतिदिन सम्म भिख मागेर जिवन चलाउनु ? जीवनदेखि नै दिक्क मान्न थालेकी ताराले भनिन्, ‘कोही दानवीर दाता हुनुहुन्छ भने मेरा छोारा छोरीको अनुहार हेरिदिएर भएपनि सहयोग गरिदिनुहोस् ।’