Aamsanchar

नेपाल आइडलको टप–११ मा झापाकी दृष्टिविहीन मेनुका, भोट दिन आग्रह

Author Image
आइतवार, असार २५, २०७४


बिर्तामोड । झापा हल्दिबारी गाउँपालिका वडा नं. ४ जलथल निवासी मेनुका पौडेलले आफूलाई नेपाल आइडलको उपाधि जिताउन आग्रह गरेकी छिन् । एपी वान टेलिभिजनबाट प्रशारण भइरहेको नेपाल आइडलको टप–११ छनौट भएकी उनले उक्त प्रतियोगितामा नेपाल आइडलको उपाधि जिताउन मोबाइलको माध्यमद्वारा एसएमएस भोटिङ गर्न सबैसँग आग्रह गरेकी छिन् ।
झापा जिल्लाको प्रतिनिधित्व गर्दै अघि बढेकी मेनुकाले आफूलाई टप–१ बनाएर नेपाल आइडलको उपाधि जिताउन मोबाइलको म्यासेज बक्समा गएर ०६ टाइप गरेर ३५२२५ नम्बरमा एसएमएस गर्न आग्रह गरेकी छिन् । प्रत्येक हप्ताको बिहीबार बेलुका ९ बजेदेखि शुक्रबार दिउँसो १२ बजेसम्म एउटा सिमकार्डबाट जतिवटा पनि एसएमएस गर्न सकिने भएकाले आफूलाई बढीभन्दा बढी एसएमएस गर्न उनले आग्रह समेत गरिन् ।
जन्मजात दृष्टिविहीन उनी गत माघ महिनादेखि शुरु भएको सो कार्यक्रममा झण्डै २५ हजार प्रतिस्पर्धीलाई पछि पार्दै झापा जिल्लाको प्रतिनिधित्व गर्दै टप–११ मा छनौट भएकी थिइन् ।
झापा हल्दीबारी गाउँपालिका– ४ जलथलका पिता टीकाराम पौडेल र माता पम्फा पौडेलको सुपुत्री उनी गरामनीस्थित दुर्गा माविबाट एसएलसी परीक्षा उत्तीर्ण गरी हाल संगीतलाई आफ्नो जिन्दगीको लक्ष्य बनाएर काठमाडौको लाजिम्पाटमा रहेको सिर्जना कलेज अफ आर्टमा संगीत विषय लिएर कक्षा १२ अध्ययनरत् छिन् । पाँच वर्षको उमेरदेखि नै गीत–संगीतमा लागीपरेकी उनी उनले शुरुमा भजन गायनबाट गायन यात्रा अगाडि बढाइन् ।
विद्यालयमा सञ्चालन हुने विभिन्न प्रतियोगिता तथा झापामा सञ्चालन हुने सांगीतिक प्रतियोगितामा समेत अब्बल उनी रेडियो नेपालले दुई वर्षअघि आयोजना गरेको राष्ट्रिय स्तरको आधुनिक गायन प्रतियोपगतामा प्रथम भएकी थिइन् । उनले– एपी वान टेलिभिजनबाट प्रशारण भइरहेको उक्त प्रतियोगितामा विजयी भएर झापालीको नाम नेपाल तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने बताइन् । सवलाङ्ग जस्तै आफूले दृष्टिविहीन भएर पनि स्वरको माध्यमबाट संगीतको क्षेत्रबाट झापाको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिनाउने बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर