Aamsanchar

दुवैतर्फ सडक निर्माणमै समस्या !

Author Image
शनिवार, वैशाख ८, २०७५

(पार्थ मण्डल)
भद्रपुर।

नेपाल र भारतलाई जोड्ने भद्रपुरस्थित मेची पुलको निर्माण कार्य लगभग पूरा भएको छ । ७ बर्षमा निर्माण सम्पन्न भएको मेची पुललाई जोड्ने सडक नबन्दा दुवै देशका नागरिकको ध्यान त्यसतर्फ केन्द्रित भएको छ ।

भारतको बंगाल र विहार राज्यलाई छोएको मेची पुललाई जोड्ने सडक कुन दिशामा लैजाने भन्ने विषयले नेपाल र भारतका जनप्रतिनिधि तथा सर्वसाधारणलाई चिन्तित बनाएको छ । पश्चिमतर्फ मेची पुललाई हुलाकी राजमार्गसँग जोड्ने डिजाइन तथा नक्सा तयार नहुनु र पूर्वतर्फ भारत सरकारले पुललाई विहार तथा बंगाल जोड्ने दिशा दिन नसक्दा मेची पुल उद्घाटनको पर्खाई लम्बिएको छ ।

नेपाल सरकारले बजेट निकासा गरेपछि वि.स. २०६८ माघ २१ गतेदेखि मेची पुल निर्माण कार्य शुरु भएको थियो । तीन बर्षमा बन्ने मेची पुल सात बर्षमा आएर लगभग काम पूरा भएको छ । कूल लागत करिब ३३ करोड रहेको पुलको लम्बाइ ५ सय ६० मिटर र चौडाइ ११ मिटर रहेको छ ।

मेची पुललाई चाँडो भन्दा चाँडो उद्घाटन गरी सञ्चालन ल्याउन दुवै देशका नागरिकले आ–आफ्नो स्थानबाट सरकार तथा जनप्रतिनिधिलाई दवाव दिँदै आएका छन् । यसै बिषयमा पूर्वतर्फको पुलको सडकलाई बिहारतर्फ जोड्ने सम्बन्धमा बिहार सरकारका विधायक, भद्रपुर नगरपालिका र दुवै देशका जनप्रतिनिधि, इञ्जिनियर, उद्योगी, व्यवसायी र राजनीतिक दलले शुक्रवार बिहान मेची पुलको स्थलगत निरीक्षण तथा अनुगमन गरेका थिए । निरीक्षण तथा अनुगमन पश्चात पुललाई भारतको बिहार राज्यसँग जोड्ने अन्तिम निष्कर्ष निकाल्दै सडकको बारेमा व्यापक छलफल गरिएको थियो ।

भद्रपुर नगरपालिकामा आयोजित छलफलमा मेची पुल जोड्ने सडकलाई एनएच हाइवेसँग जोड्न भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रदेश सांसद ओमप्रकाश सरावगी र भद्रपुरका पूर्व मेयर भरतेन्दुकुमार मल्लिकले बिहारका विधायक तथा जनता दल युनाइटेडका पार्टी सचेतक मो. नौसाद आलम समक्ष आग्रह गरेका थिए ।

पुललाई बंगाल र बिहारको एनएच हाइवेस“ग जोड्छौ : विधायक आलम

नेपाल सरकारको सहयोगमा मेची पुल निर्माण भएकोमा बिहारका विधायक मो. नौसाद आलमले खुशी व्यक्त गरेका छन् । ‘नेपालको पुरानो नगर भद्रपुर र भारतको गलगलिया पुलकै कारणले अन्य नाकाको तुलनामा विकासको दृष्टिले पछि परेको छ, जसले गर्दा भद्रपुर र गलगलियाबासीलाई प्रत्यक्ष मार परेको छ– उनले भने ।

अब पुल बनेपछि यस क्षेत्रको विकास बढ्ने छ, पुललाई विहार राज्यसंग जोड्न विहार सरकार तयार छ– विधायक आलमले भने । गलगलियाको बाटो पहिला ग्रामीण सडक थियो, अहिले आरसीडी सडक बनेको छ, पुलको सडकलाई बंगालदेखि अररिया जोड्ने एनएच सडकसंग जोड्न विहारको मुख्यमन्त्रीसँग कुरा गरी काम अघि बढाउन प्रयास गर्ने छौ– उनले थपे ।

यस्तो छ प्राविधिक समस्या

मेची पुलको पूर्वपट्टि भारततर्फ यु–टर्न आकारको सडक बन्दैछ । सूर्य एण्ड सन्स जेभी निर्माण कम्पनीले १ सय ३ मिटर यु– टर्न आकारको ग्राभेल सडक बनाउँदैछ । यु–टर्न आकारको सडक बन्दा सवारीसाधनलाई समस्या हुने भन्दै भद्रपुर नगरपालिकाले गम्भीर चासो देखाएको छ । सिँधै सडक लैजाँदा बंगालमा पर्छ, यु–टर्न गर्दा बिहार जोडिन्छ ।

बंगालको भू–भाग नजोडी विहार लैजाँदा यस्तो समस्या देखा परेको भद्रपुर नगर प्रमुख श्रेष्ठले बताए । यस बारेमा बिराटनगरस्थित भारतीय राजदूतावास र नेपाल सरकारलाई लिखित तथा मौखिक जानकारी गराइसकेका छौं– उनले भने । अहिले बन्दै गरेको यु–टर्नलाई रेडियम अफ क्रभेचर भनिन्छ । कम्तीमा तीन सयदेखि चार सय ५० मिटर रेडियम नभए ठूला सवारीसाधन आवतजावतमा समस्या हुनेछ । अहिले रेडियम करिब १ सयदेखि एक सय ५० मिटर मात्र रहेको छ ।

भद्रपुरकै सडकमा सर्वसाधारणको अवरोध

हुलाकी राजमार्ग जोड्ने योजनाका साथ बनाइएको मेची पुलको सडक निर्माणको कामले तीव्रता पाउन सकेको छैन । भद्रपुरबाट सडक निकाल्न घरधनीले घर तथा जमिन खाली नगर्दा यस्तो समस्या उत्पन्न भएको हो । भौतिक संरचना हटाउन जमिनको लागि मात्र साढे पाँच करोड र घरको मूल्याकंन गर्दा करिब साढे २ करोड रकम आवश्यक रहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इञ्जिनियर उपेन्द्र दासले बताए ।

उनका अनुसार सडकमा पर्ने २२ घरपरिवारलाई जमिन वापत ४ करोड वितरण गरिसकेका छौं । जमिनको साढे एक करोड र भवनको गरी अझै साढे तीन करोड रकम आवश्यक देखिएको छ । यसको निकासा पनि अर्थ मन्त्रलायबाट भइसकेको छ । रकम नपाउँदा सर्वसाधरणले जमिन खाली नगरेको उनले बताए । ‘पुल निर्माण कम्पनीले अहिले ३६० मिटर ग्राभेल सडक बनाउने छ– उनले भने– पुललाई हुलाकी राजमार्गसँग जोड्ने काम बाँकी नै छ, त्यसको लागि डिजाइन र नक्सा अहिले बनिसकेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुहाङ, डम्बर र मिलनले गरे मतदान
शनिवार, वैशाख १५, २०८१
आजको मौसम
शनिवार, वैशाख १५, २०८१