Aamsanchar

नेपालको प्रशासनिक नक्सा सार्वजनिक

Author Image
बिहिवार, फागुन २३, २०७५

काठमाडौं,

सरकारले संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेकी हुन्।

नक्सामा सातवटै प्रदेश, त्यसको सिमाना, ७७ वटा जिल्ला र त्यसको सिमाना, अन्तराष्ट्रिय विमानस्थल, मुख्य–मुख्य नदी, खोला र ताल मात्रै उल्लेख गरिएको छ। सबै प्रदेशको नामकरणसमेत नभएकाले नक्सामा सबै प्रदेशको नाम उल्लेख गर्न नसकिएको पनि मन्त्री अर्यालले स्पष्ट पारिन्।

मन्त्री अर्यालले प्रदेशको राजधानी र नाम पर्खेर बस्दा सो नक्सा सार्वजनिक गर्ने काममा ढिलाई भएको पनि स्पष्ट पारे। मन्त्री अर्यालले सो नक्सा सबभन्दा पहिला सिंहदरबारमा हस्तान्तरण गर्ने योजना पनि सुनाए। त्यसपछि नेपालको प्रशासनिक नक्सालाई प्रदेश र स्थानीय तहमा पनि क्रमशः हस्तान्तरण गर्दै लैजाने भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको योजना छ।

मन्त्री अर्यालले प्रदेशस्तरको र ७ सय ५३ वटै स्थानीय तहको नक्सा पनि छिट्टै सार्वजनिक गर्ने घोषणा गरिन्। सरकारले सार्वजनिक गरेको सो नक्सा नापी विभागको वेबसाइट डिओस डट जिओभी डट एनपी मा राखिएको छ।

नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले विभागको वेबसाइटमा पनि सो नक्सा राखिएकाले त्यसैलाई आधिकारिक मानेर प्रयोग गर्न पनि सम्बन्धित सबै निकायलाई आग्रह गरे। २०१४ सालमा स्थापना भएको नापी विभागले २०३२ सालदेखि नेपालको नक्सा तयार पारी सार्वजनिक गर्न सुरु गरेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर