Aamsanchar

यस्तो हालतमा छ, बिर्तामोड कृषि बजार

Author Image
बिहिवार, साउन २, २०७६

बिर्तामोड ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्रले बिर्तामोडस्थित कृषि वजार व्यवस्थापन समिति गठनका लागि दिएको समयावधि गुज्रन लाग्दासमेत समिति बन्न सकेको छैन ।

केन्द्रले ६ महिनाभित्र समिति गठन गर्न निर्देशन दिएको भए पनि पाँच महिना बितिसक्दा समेत तदर्थ समितिले नेतृत्व चयन गर्न सकेको छैन ।

विभागले गत वर्ष माघ २४ गते बजार व्यवस्थापन समिति गठन गर्न भन्दै कृषि विकास फर्म चन्द्रडाँगीका प्रमुख धनवहादुर थापालाई तदर्थ समितिको अध्यक्षको अख्तियारी दिएको थियो । विभागले व्यवस्थापन समिति गठन गर्ने भने पनि उनले आफू अनुकूलका कर्मचारी नियुक्त गर्दै तीन जना कर्मचारीलाई भने उमेर हदको कारण देखाउँदै सेवाबाट अवकाश दिने निर्णय गरेको समेत रहस्य खुलेको छ ।

विभागका प्रमुख राजेन्द्रप्रसाद मिश्रले पत्राचार गर्दै ६ महिनाभित्रमा बजार व्यवस्थापन समिति गठन गर्न निर्देशन दिएका थिए । कृषि बजार विकास तथा व्यवस्थापन निर्देशिका २०७३ को दफा ५ अनुसार नयाँ वजार व्यवस्थापन समिति गठन गर्न पत्राचार भएपनि थापाले कृषि बजार विकास तथा व्यवस्थापन निर्देशिका २०७३ लाई समेत लत्याउँदै आफू खुशी करारमा व्यवस्थापक सीताराम नेपाल र लेखापाल पवित्राकुमारी पौडेललाई नियुक्ति गरेका छन् ।

समितिका अध्यक्ष थापाको अध्यक्षतामा गत जेठ २९ गतेको बसेको वैठकले विष्णुबहादुर राई ९मुन्ना०, सूर्यवहादुर घले र हरिप्रसाद कडरियालाई निकाल्ने निर्णय गरेसंँगै यस्तो रहस्य खुलेको हो । राई कार्यालय सहयोगी हुन् भने कडरिया र घले सुरक्षा गार्ड हुन् । उनीहरुलाई विना सूचना निकाल्ने निर्णय गरिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । उनीहरुले भने आफूहरुलाई विना कारण उमेरको हद देखाउँदै निकाल्ने निर्णय गरेको भन्दै त्यसको विरोध जनाए । कार्यालय सहयोगी राईले भने – २५ देखि ४० वर्षसम्मको मात्रै व्यवस्थापक नियुक्त गर्न पाइन्छ तर, ४८ वर्षीय व्यवस्थापक नियम विपरीत नियुक्त गर्दा हुने हामीले चाँहि काम गर्दा किन नहुने उनले प्रतिप्रश्न गरे ।

विभागले नै नयाँ बजार व्यवस्थापक नियुक्ति नभए सम्मका लागि हाललाई कार्यरत मध्ये वरिष्ठतम् कर्मचारीलाई वजारको दैनिक आर्थिक, एवम् प्रशासनिक कामकाजका निमित्त वजार व्यवस्थापकको हैसियतले कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । तर, तदर्थ समितिका अध्यक्ष थापा र समितिमा रहेका सदस्य शालिकराम भट्टराई, लक्ष्मीप्रसाद खरेल लगायतले नियम विपरीत कर्मचारी नियुक्ति गरेका छन् । नियुक्त भएका व्यस्थापक सीताराम भट्टराईका भिनाजु र लेखापालमा नियुक्त गरिएकी बिर्तामोड –८ निवासी पवित्राकुमारी खरेलकी साली भएको बताइएको छ ।

कृषि उपज ५ किलो वा सो भन्दा बढी खरिद विक्री गर्ने उद्देश्यले सञ्चालित स्थल नै कृषि थोक बजार हो । जुन बजारमा कृषकबाट उत्पादित कृषि वस्तु कृषक, व्यापारी, उपभोक्ता समेतलाई लाभान्वित हुने गरी विक्री वितरण गरिन्छ । व्यवस्थित तथा प्रतिष्पर्धात्मक बजार प्रणालीको विकास र व्यवस्थापन गर्न आबश्यक ठानेर सरकारले कृषि मन्त्रालयको मातहतमा रहेर देशका विभिन्न ठाउँमा कृषि बजार स्थापना गरेको छ । सरकारको सोही उद्देश्य अनुसार झापाको बिर्तामोडमा पनि २०५३ सालमा कृषि थोक वजार स्थापना भएको हो ।

पूर्बकै एक मात्र ठूलो र भारतीय तथा पूर्वी पहाडी क्षेत्रका किसानको प्रमुख थोक बजारका रुपमा चिनिएको यो बजार अहिले बजारको उद्देश्य अनुसार सञ्चालन हुन सकेको छैन । ६ वर्ष अघि कृषि बजार व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष मोहन शिवाकोटीको निधन भए पछि बजार व्यवस्थापन समिति गठन नहुँदा अढाई दशक अघि स्थापना भएको कृषि थोक बजार अस्तव्यस्त छ । बजार सञ्चालनका लागि व्यापारी, किसान, नगरपालिका, कृषि ज्ञान केन्द्रलगायतका पदाधिकारी रहेको बजार व्यवस्थापन समिति गठन गर्नुपर्ने नियम छ । तर, व्यवस्थापन समिति गठन नहुँदा गोदाम घरहरू जीर्ण बन्दै गएका छन् ।

दैनिक निस्किने फोहोरमैलाको उचित व्यवस्थापन हुन सकेको छैन । अहिले वर्षात्को समयमा पानीको निकास नहुँदा उपभोक्ता बजारमा गएर किनमेल गर्न सक्ने अवस्था नै छैन । कृषि थोक बजार भनिए पनि परिसरभित्र कृषिबाहेकका पसल थपिने क्रम बढेको छ । कृषि थोक बजारभित्रका सटरहरू बजार दरभन्दा ५ सय गुण कम दाममा मासिक भाडामा लगाइएका छन ।

आर्थिक कारोबारका हिसावले समेत ट्रान्जिट पोइन्टका रुपमा हेरिएको बिर्तामोडको कृषि थोक बजारको व्यवस्थापकीय अवस्था लथालिंग भएपनि यहाँका उपभोक्तालाई विषदीरहीत तरकारी र फलफूल खुवाउनका लागि सरकारी पहल सह्रानीय छ ।

दैनिक करोडौं रुपैयाँको कारोवार हुने यो बजारमा विक्री हुने तरकारी तथा फलफूल विषादीरहीत बनाउन दुई वर्ष अघि यहाँ विषादी अन्वेषण द्रुत विश्लेषण प्रयोगशाला समेत स्थापना गरिएको छ । कृषि विकास मन्त्रालय मातहतको बाली विकास निर्देशनालयबाट आर्थिक सहयोग भएसँंगै कृषि थोक बजारमा विषादी अन्वेषण द्रुत विश्लेषण प्रयोगशाला २०७४ सालदेखि सञ्चालनमा आएको हो । प्रयोगशालामा १ नम्वर प्रदेश भरी विक्री हुने तरकारीको जीवनाशक विदादीको मात्रा जाँच हुँदै आएको प्रयोगशालाकी प्राविधिक सहायक अञ्जु आचार्य बताउँछिन् ।

कृषि थोक बजारभित्र रहेको कार्यालयका अनुसार बजारमा ३२८ वटा पसल छन् । बजारलाई पाँच सेक्टरमा विभाजन गरिएको छ । फलफूलका ३२, तेलहन दलहनका १९, माछामासुका ६०, खुद्रा सब्जीका १२०, थोक बिक्रेता ८६ र अन्य विविध ११ वटा पसल रहेका छन् ।

कृषि थोकसहित बिर्तामोड नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारको भएको बताउँदै बिर्तामोडका अग्रज व्यवसायी गोपी गिरी भन्छन् – जनप्रतिनिधि निर्वाचित भएको दुई वर्ष पूरा भयो तर अहिलेसम्म डम्पिङ साइड छैन, फोहोर सडकमा छ ।

डम्पिङ साइडको अभावमा कृषि थोकको फोहोर व्यवस्थापन गर्न सकिएको छैन । जसका कारण कृषि थोक पुगेर तरकारी किन्न पनि स्थानीयले सास्ती झेल्नु परेको छ । बिर्तामोडका समाजसेवी खनुपरुदे ९रामबाबु० प्रसाईले चार विगाह जमिन कृषि उपज बजार समितिलाई निःशुल्क प्रदान गरेपछि कृषि थोक बजार स्थापना भएको हो ।

हर्कलाल गिरीको अध्यक्षतामा गठित समितिले २०६० सालसम्म निरन्तर काम ग¥यो । २०६० सालदेखि मोहन शिवाकोटीले पनि तीन कार्यकाल नै अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । तर, उनको निधनपछि ०६९÷०७० यता कृषि बजार व्यवस्थापन समिति नेतृत्व विहीन भएको छ । व्यवस्थापन समिति नेतृत्वविहीन भएसँगै कृषिथोक भित्रका समस्या एकपछि अर्को थपिएका थपियै छन् ।

२०५३ सालमा हर्कलाल गिरीको अध्यक्षतामा गठित समितिमा नारायण ढुंगाना, नारायण ओली, जीवन पनेरु, धर्मप्रसाद सुबेदी, दुर्गादेवी शर्मा, टेकेन्द्र शिवाकोटी, अमरदीप भेटवाल र सदस्य सचिवमा सुरजकुमार बिमली रहेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर