Aamsanchar

कानुन मन्त्रालयको जिम्मेवारी शिवमायाको काधमा

Author Image
सोमवार, फागुन ५, २०७६
फायल तस्वीर

काठमाडौँ । अन्ततः पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिएकी छन् । २०७६ साल माघ ६ गते उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फेले त्यसको एक महिनाभित्रै मन्त्रीका रूपमा पुनः सिंहदरबार छिर्ने अवसर पाएकी हुन् ।

फरक यति मात्र हो एक महिनाअघिसम्म उनी व्यवस्थापिकाकोे भूमिकामा थिइन् भने अब कार्यपालिका सदस्यको भूमिकामा सिंहदरबार प्रवेश गरेकी हुन् ।

यदि २०७३ सालमा केपी ओली नेतृत्वको सरकार नढलेको थियो भने तुम्बाहाङ्फे अहिले इजरायलका लागि नेपाली राजदूतका रूपमा कूटनीतिक भूमिकामा हुने थिइन् ।

तत्कालीन ओली नेतृत्वको सरकारले उनलाई इजरायलका लागि नेपाली राजदूतका रूपमा सिफारिस गरेको थियो । तर सुनुवाइ नहुँदै ओली नेतृत्वको सरकार विघटन हुनपुग्यो र काँग्रेस–माओवादी गठबन्धनको सरकार बनेपछि उनीसहित सबैको नाम फिर्ता हुन पुग्यो ।

त्यसबेला राजदूत हुन नपाएकी तुम्बाहाङ्फे २०७४ को निर्वाचन हुँदासम्म मुलुकको राजनीतिक समीकरण पनि बदलिइसकेको थियो । अर्थात् काँग्रेस–माओवादी समीकरण बदलिएर एमाले–माओवादी एकै चुनावचिन्हमा निर्वाचन लडेर पार्टी एकता घोषणा नै गर्ने अवस्थामा पुगिसकेका थिए ।

निर्वाचनमा स्पष्ट बहुमत आएपछि तत्कालीन एमाले–माओवादीले राज्यका प्रमुख अङ्ग राष्ट्रपति, उपराष्ट्रपति र सभामुख उपसभामुख लगायतमा भागबण्डा गरे । जसमा तुम्बाहाङ्फे उपसभामुखको उम्मेदवार बनिन् र निर्वाचित पनि भइन् ।

महराले गल्ती गर्दा शिवमाया विवादमा
निर्वाचनपछि सभामुख कृष्णबहादुर महरा भए भने उपसभामुख शिवमाया बनिन् । महरामाथि गत असोज महिनामा संसद सचिवालयकै एक कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेपछि शिवमायाको चर्चा बढी हुन पुग्यो ।

कारण थियो– सत्तारुढ दलको स्पष्ट बहुमत रहेको संसदमा महराको राजीनामापछि तुम्बाहाङ्फेले पनि राजीनामा गर्नुपर्ने नेकपाको दबाब । तर पार्टीको यो दबाबलाई तुम्बाहाङ्फेले ठाडै अस्वीकार गरिन् । कुनै हालतमा राजीनामा नदिने उनको अडानले सभामुख चयन प्रक्रिया नै केही समय अवरुद्ध हुन पुग्यो । तर अन्ततः नेकपाको दबाब थेग्न नसकेपछि उनले माघ ६ गते राजीनामा गरिन् र सभामुखमा नेकपाकै अग्नि सापकोटा निर्वाचित हुन पुगे । यद्यपि प्रतिनिधि सभाले उपसभामुख भने अझै पाइसकेको छैन ।

मन्त्री पद अस्वीकार
यसअघि उपसभामुखबाट तुम्बाहाङ्फेलाई राजीनामा दिन पार्टीमा दबाब बढ्दै जाँदा उनले मन्त्री पद दिने प्रधानमन्त्री ओलीको प्रस्तावसमेत अस्वीकार गरेकी थिइन् । उनले त्यसबेला भनेकी थिइन्, ‘म मन्त्री खान जान्नँ’ शिवमायाको यो अभिव्यक्ति धेरै दिन टिक्न सकेन । तुम्बाहाङ्फेले अडान बदल्दा उनले सोमबार कानुन न्याय तथा संसदीय मामिला मन्त्रीका रूपमा शपथ लिन पुगिन् ।

पितृसत्तामाथि आक्रोश उसैको आशीर्वाद !
उपसभामुख पदबाट राजीनामा गर्नुपर्ने बाध्यता भएपछि उनले पार्टी नेतृत्वमाथि गम्भीर प्रश्न पनि उठाएकी थिइन् । जुन पार्टीबाट उनी सांसद र उपसभामुख बनेकी थिइन, त्यही पार्टीका नेताहरुलाई लक्षित गर्दै ‘जति राजसंस्था फाल्न सजिलो हुन्छ त्योभन्दा गाह्रो अहिलेको पितृसत्ता फाल्न भएको’ भनेर अभिव्यक्ति दिएकी थिइन् शिवमायाले ।

‘नेपालमा पितृसत्ता धेरै बलियो छ । राजसंस्थालाई सहजै फालिदियौँ तर पितृसत्ता फाल्न बाँकी छ, गाह्रो पनि छ’, तुम्बाहाङ्फेले भनेकी थिइन् । जतिबेला उनी आफूलाई नै सभामुख बनाउनुपर्ने मागमा थिइन् त्यहीबेला उनको इच्छाविपरीत नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको थियो ।

उपसभामुखबाट राजीनामा र सभामुखमा ‘अवसर’ नपाउने भएपछि उनले भनेकी थिइन्, ‘अब मेरो कामको ट्रयाक चेन्ज भएको छ’, उनले भनेकी थिइन्, त्यसबेला उनलाई राष्ट्रपतिको ब्याकअप छ भन्ने समाचारको पनि खण्डन गरेकी थिइन् ।

‘मेरो ब्याकअपमा कुनै व्यक्ति वा संस्था छैन । संविधान थियो र मलाई संविधानले नै यहाँसम्म ल्याएको हो’ उनको भनाइ थियो । तर अहिले उनलाई उनै पितृसात्ता भनिएका प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी ओली र प्रचण्डले उनलाई मन्त्री पद दिएका छन् । सो मन्त्रालयमा यसअघि भानुभक्त ढकाल र उपेन्द्र यादवको बहिर्गमनले पनि शिवमायालाई मन्त्रालय छिर्ने अवसर जुराएको छ ।

को हुन् शिवमाया ?

२०३६ को विद्यार्थी आन्दोलनदेखि तत्कालीन नेकपा माले आबद्ध अनेरास्ववियुबाट राजनीति थालेकी शिवमाया त्यस कालखण्डकी चर्चित क्रान्तिकारी नेतृ हुन् । विभिन्न कमिटी हुँदै रामनाथ ढकाल अध्यक्ष भएको बेला अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष भइन् ।

हालका पर्यटनमन्त्री योगेश भट्टराई अनेरास्ववियुको अध्यक्ष भएपछि विद्यार्थी राजनीतिबाट बिदा लिएकी तुम्बाहङ्फे त्यसपछि विराटनगर फर्किएर गैरसरकारी संस्थामार्फत सामाजिक काममा लागिन् । जन्मथलो तेह्रथुम र अध्ययन तथा राजनीति झापाबाट सुरु गरेकी तुम्बाहाङ्फेको कर्मथलो मोरङ भयो ।

मोरङमा उनले राजनीति र समाज सेवासँगै अघि बढाउँदा उनका श्रीमान घनेन्द्र जिमी नेकपा एमालेबाट निर्वाचित उर्लाबारी गाविसका अध्यक्ष थिए । हाल जिमीको निधन भइसकेको छ

राष्ट्रपतिको निरन्तर साथ
नवौँ महाधिवेशनबाट एमाले केन्द्रीय सदस्यमा निर्वाचित उनी पछिल्लो पटक समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनिन् । पार्टीभत्र केपी ओली समूहबाट कहिल्यै बाहिर नरहेकी उनी राष्ट्रपति विद्यादेवी भण्डारीको प्रियपात्र नै भनेर चिनिन्छन् । रातोपाटीबाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर