Aamsanchar

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई खुशीको खबर

Author Image
शुक्रवार, फागुन ३०, २०७६

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले सरकारी विदाबाहेक नै वर्षमा ६० दिनभन्दा अधिकको विदा पाउने भएका छन् । बैंकका कर्मचारीले विवाहदेखि किरिया बस्दासम्म विदा पाउने व्यवस्थासहितको नमुना कार्यविधि नेपाल राष्ट्र बैंकले तयार पारेको हो ।

अहिले कोरोनाभाइरस (कोभिड–१९)को विश्वव्यापी महामारी फैलिएको अवस्थामा राष्ट्र बैंकले संक्रामक रोग लागेमा विदा बस्न आदेश दिन सकिने व्यवस्थासहितको नमुना विनियमावली बनाइ बिहीबार नै सबै बैंक तथा वित्तीय संस्थामा परिपत्र गरेको छ ।

राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको बैंक तथा वित्तीय संस्थाहरूले लागू गर्नुपर्ने ‘कर्मचारी सेवा विनियमावली’को नमुनाअनुसार कुनै कर्मचारीलाई संक्रामक रोग लागि उपचार गराउनु परेमा उपचार अवधिभर काममा नआउन र विदामा बस्नको लागि विदा स्वीकृत गर्ने अधिकारीले निर्देशन दिन सक्ने, यस्तो निर्देशन कर्मचारीले अनिवार्य पालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कुनै कारणले त्यस्तो कर्मचारीको बिरामी विदा बाँकी नभएमा अन्य विदा स्वीकृत गर्न वा बेतलबी विदामा पठाउन सकिने व्यवस्था नमुना विनियमावलीमा उल्लेख छ ।

यो विनियावलीअनुसार बैंक–वित्तीय संस्थामा कार्यरत कर्मचारीले १४ किसिमको विदा पाउने छन् । शनिबारका साप्ताहिक विदा र सरकारले तोक्ने सबै सार्वजनिक विदाबाहेक थप १२ किसिमका विदाका व्यवस्था गरिएको हो ।

यो कार्यविधिअनुसार विवाहका लागि बैंकका कर्मचारीले ३ दिन र किरिया बस्नु पर्दा १५ दिनको तलबी विदा पाउँछन् ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले काम गरेको अवधिको १८ दिनको एक दिनका दरले घर विदा, वर्षमा १२ दिन बिमारी विदा तथा कम्तिमा सात दिन अनिवार्य विदा पाउने गरी नमुना विनियामावलीमा व्यवस्था गरिएको छ ।

घर विदा वर्षका २० दिनभन्दा बढी नहुने तथा यस्तो विदा नबसी ९० दिनसम्म सञ्चित गर्न पाउने र त्यसभन्दा बढीको सञ्चित विदामा कर्मचारीले पाउने तलबभत्ता बराबरको रकम भुक्तानी दिनुपर्ने वा अनिवार्य रुपमा विदामा बस्न लगाउन व्यवस्था गरिएको छ ।

कर्मचारीले घर विदा लिँदा त्यस्तो विदाको अवधिभित्र अरु कुनै विदा परेमा त्यस्तो विदा घर विदामा समावेश नगरीसमेत नमुना विनियमावलीमा उल्लेख छ ।

यस्तै, बैंक–वित्तीय संस्थाका कर्मचारीले वर्षमा १२ दिन तलबभत्ता सहितको विरामी विदा पाउने र यस्तो विदा सञ्चित गर्न पाउने उल्लेख छ ।

सञ्चित विरामी विदाबापत कर्मचारीले खाईपाई आएको तलबभत्ताको आधारमा हिसाब गरी कर्मचारी सेवाबाट अलग भएका हुँदा वा ४५ दिनभन्दा बढी बिदा सञ्चित भएपछि कर्मचारीले रकम लिन चाहेमा ४५ दिन विदा सञ्चित राखी बढी दिनको विदाको रकम एकमुष्ठ रुपमा दिनुपर्ने व्यवस्था छ ।

यसैगरी, वर्षमा १२ दिन पूरा तलबभत्ता सहितको भैपरी आउने विदा पाउने र यस्तो विदा आधा दिन पनि लिन पाउने व्यवस्था गरिएको छ । भैपरी विदा एउटा आर्थिक वर्षभित्रै लिइसक्नु पर्ने र वर्षमा बढीमा लगातार तीन दिनभन्दा बढी लिन पाउने व्यवस्था गरिएको छ ।

यो विदा अन्य बिदामा नगाभिने र बिदा गणना गर्दा बीचमा परेको सार्वजनिक बिदाका दिनलाई गणना नगरिने व्यवस्था गरिएको छ ।

यस्तै, वार्षिक कम्तिमा ७ दिनसम्मको कर्मचारी सेवा समितिको सिफारिसमा समितिले तोके बमोजिम पूर्ण सुविधा सहितको अनिवार्य विदा (फोर्स लिभ) दिइने व्यवस्था नमुना विनियवालीमा उल्लेख छ । हाल बैंक तथा वित्तीय संस्थाले कर्मचारीहरूको पुनर्ताजगीका लागि कम्तिमा १२ देखि १५ दिनसम्मको व्यवस्था गरेका छन् ।

महिला कर्मचारीले कार्यकालमा २ पटक साढे तीन महिना ९१४ हप्ता०को मातृत्व संरक्षण बिदा पाउने र त्यसमध्ये दुई महिनाको तलबभत्ता पाउने र बाँकी अन्य विदाबाट कट्टी हुने व्यवस्था नमुना विनियामावलीमा गरिएको छ ।

सम्बन्धित कर्मचारीले माग गरेमा यस्तो विदा लगातार ६ हप्तासम्म पनि थप गर्न सकिने तथा थपिएको विदा अन्य सञ्चित विदाबाट कट्टी हुने गरी हिसाब मिलान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बैंक–वित्तीय संस्थाका पुरुष कर्मचारीले पनिे श्रीमती प्रसुति भएको अवस्थामा कुल सेवा अवधिमा दुई पटकसम्म प्रत्येक पटक १५ दिनका दरले पूरा तलबभत्ता सहितको प्रसुति स्याहार विदा पाउने व्यवस्था नमुना विनियावलीमा उल्लेख छ ।

यसैगरी, कुनै कर्मचारीको आमा, बुबा, श्रीमान्, श्रीमती र छोरा–छोरीको मृत्यु भई आफै किरिया बस्नु पर्ने भएमा १५ दिनसम्म किरिया बिदा पाउने र महिला कर्मचारीको हकमा सासु, ससुराको मृत्यु भएमा वा कुल धर्म अनुसार उनका पति आफै किरिया बसेको अवधिमा श्रीमतीलाई समेत किरिया विदा प्रदान गरिने व्यवस्था गरिएको छ ।

बैंकरवित्तीय संस्थामा कम्तिमा पाँच वर्षसम्म काम गरेका स्थायी कर्मचारीले आफ्नो सञ्चित विदा लिई सकेपछि पनि आफ्नो घरायसी व्यवहार वा विरामीका कारणले विदा नबसी नहुने परिस्थिति आइपरेमा एक आर्थिक वर्षमा बढीमा १५ दिनसम्म र सेवा अवधिभरमा ६० दिनसम्म विशेष विदा दिन सकिने व्यवस्था गरिएको छ । यस्तो विदामा भने तलबभत्ता पाउँदैनन् ।

यसैगरी, मनासिब कारणसहित अनुरोध भई व्यवस्थापनले उचित ठानेमा कर्मचारी सेवा सुविधा समितिको सिफारिशमा समितिले कम्तिमा १० वर्ष स्थायी सेवा पूरा गरेका कर्मचारीहरुलाई बढीमा १ वर्षसम्म बेतलबी रुपमा असाधारण विदा प्रदान दिन सकिने व्यवस्था नमुना विनियमावलीमा उल्लेख छ ।

त्यस्तै, बैंक–वित्तीय संस्थामा तीन वर्ष स्थायी सेवा गरेका कर्मचारीले समितिले तोकेको शर्त वन्देजको अधीनमा रहने गरी संस्थागत वा आफ्नै प्रयासमा स्वदेश वा विदेशमा अध्ययन गर्न चाहेमा सेवा अवधिभरमा एक पटक वा पटक पटक गरी बढीमा पाँच वर्षसम्मको आधा तलब पाउने गरी अध्ययन विदा पाउन सक्ने यसमा व्यवस्था गरिएको छ ।

यसबाहेक, बैंक-वित्तीय संस्थाले आफ्नो आवश्यकता अनुसार कर्मचारीलाई तलबभत्ता, सुविधा समेत प्रदान गर्ने गरी तालिममा पठाउन सक्ने व्यवस्था गरिएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर