Aamsanchar

अग्रज पत्रकार स्वर्गीय श्रेष्ठको अन्त्येष्टी

Author Image
सोमवार, साउन २६, २०७७

नेपाली पत्रकारिता र साहित्यमा पुर्यानुभएको योगदानको कदर

काँकरभिट्टा। चार दशकभन्दा लामो समय पत्रकारितामा खर्चिनु भएका झापाका अग्रज पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठको सोमबार हिन्दु संस्कार अनुसार मेचीनगर— १० स्थित निन्दा खोलाको रामघाटमा अन्त्येष्टी गरिएको छ ।

वि. सं. २०१३ साल असार १ गते भक्तपुरमा पिता चन्द्रलाल र माता शारदादेवी श्रेष्ठका कोखबाट जेठा छोराकारुपमा जन्मिनु भएका श्रेष्ठको आइतबार ६४ वर्षको उमेरमा अपरान्ह पौने ६ बजेतिर मेचीनगर —१० धुलावारीस्थित निजी निवासमा भएको निधन थियो ।

श्रेष्ठको निधनको खवर सुनेपछि कवि, कलाकार, साहित्यकार अधिकारकर्मी, सञ्चारकर्मी, शिक्षक, राजनीतिकर्मीलगायत ठूलो संख्यामा सर्वसाधारणहरु अन्तिम श्रद्घाञ्जलीका लागि श्रेष्ठको निवासमा पुगेका थिए ।

विहान करिव १० बजेतिर उहाँको शवयात्रा शुरु भएको थियो । दिवंगत श्रेष्ठका कान्छा छोरा अनिशेष श्रेष्ठले दागवत्ती दिएका थिए । स्वर्गीय श्रेष्ठका दुई छोरामध्ये जेठा अनिमेष वैदेशिक रोजगारीका लागि कतारमा हुनुहुन्छ । उहाँको निधनको खवरले यतिखेर सिङ्गो पत्रकारिता र साहित्यक्षेत्र स्तव्ध बनेको छ । भक्तपुरमा जन्मिएर कर्मथलो झापालाई बनाउँदै आउनु भएका दिवंगत श्रेष्ठले वि.संं. २०३२ सालदेखि पत्रकारिता शुरु गर्नुभएको थियो ।

उहाँले वार्ता साप्ताहिक (२०३४), सिद्धार्थ पाक्षिक (२०३६), संसार साप्ताहिक (२०३८) सिरेटो साप्ताहिक (२०३९) रासस (२०४२), शनिबार साप्ताहिक (२०४८) जनसंसद दैनिक (अतिथि सम्पादक २०७१—२०७३) भई पत्रकारिता गर्नुभयो । पत्रकारितामा निक्कै सक्रिय श्रेष्ठका बारेमा नेपाल पत्रकार महासंघ झापा शाखाका पुर्व अध्यक्ष कृष्ण हुमागाईँ स्वर्गीय श्रेष्ठ आफ्नो जिम्मेवारीप्रति सधै लगनशिल इमान्दारपूर्वक तथा मिहिनतका साथ सक्रिय रहने बताउनुहुन्छ ।

नाम अमृत । स्वाभाव पनि अमृत । मीठो र मसिनो बोल्ने अमृतलाल श्रेष्ठ पत्रकारिता र साहित्यमा सँधै अमर रहने झापाली पत्रकारहरु बताउछन् । प्रेस यूनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीले निष्ठाको पत्रकारितामा स्वर्गी श्रेष्ठ रमाउने र उहाँले नेपाली पत्रकारिता र साहित्यकाक्षेत्रमा पुर्याएको योगदान सधै अवस्मरणिय रहने बताउनुहुन्छ ।

वि.संं. २०३२ सालदेखि पत्रकारिता गर्दै आएका श्रेष्ठले २०४२ सालमा राष्ट्रिय समाचार समितिको कर्मचारीका रुपमा काम गर्न थाल्नुभयो । रासस भद्रपुरको कार्यालय प्रमुख समेत रहनु भएका पत्रकार श्रेष्ठ २०७१ सालमा सेवा निवृत्त हुनुभयो । राससबाट अवकाश पाएपछि उहाँ घरमै बस्दै आउनुभएको थियो । उहाँले राससमा २९ वर्ष विताउनुभएको थियो । ‘राससमा २९ वर्ष विताउनु चानचुने कुरा होइन ’राष्ट्रिय समाचार समिति मेची प्रमुख अम्बिका भण्डारीले भन्नुभयो —उहाँले जीवनमा केही गर्ने उमेर सवै राससमा नै खर्च गर्नुभयो । उहाँ एक प्रतिभाशाली र निष्ठावान व्यक्तिकारुपका रुपमा हामीले लिएका छौ । आज सम्म हामी उहाँले नै देखाउनुभएको गोरेटो हिडिरहेका छौ । ’

दिवंगत श्रेष्ठले पत्रकारितामात्र होईन नेपाल साहित्यकोक्षेत्रमा समेत निक्कै टेवा पुर्याउनु भएको छ । उहाँका ढुङगा माथि तरेलिएका फूल र पातहरु (कविता सङ्ग्रह २०४८), अन्तहिन यात्रा (कविता सङ्ग्रह २०५२), हुट्टियाउले आकाश थामेको देश (कविता सङ्ग्रह २०५६), क्यातुके फूल (कथा सङ्ग्रह २०६८), स्मृतिका ती दिनहरु (संस्मरण सङ्ग्रह २०७१) लगायत थुप्रै कृतिहरु प्रकाशित छन् ।

नेपाली साहित्यमा स्वर्गीय श्रेष्ठले पुर्याएको योगदानको चर्चा जतिगरेपनि कम हुने साहित्यकार पुण्यप्रसाद खरेल बताउनुहुन्छ । पत्रकारतिा र नेपाली साहित्यक्षेत्रमा होईन स्वर्गीय श्रेष्ठले सामाजिक संघ संस्थाहरुमा समेत मुख्य जिम्मेवारी सम्हाल्नु भएको थियो । सन् १९९० मा उहाँले धुलावारी जेसीजको अध्यक्ष भएर सफलरुपमा आफ्नो जिम्मेवारी बहन गर्नुभयो ।

उहाँले जेसिजमा पुर्याएको योगदानको तारीफ जतिगरे पनि कम हुने धुलावारी जेसिजका पूर्व अध्यक्ष छविलाल खतिवडाको भनाई छ । उहाँले नेपाल पत्रकारिता, साहित्य तथा सामाजिकक्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गदैं विभिन्न साहित्यीक देखि अन्य संघ संस्थाहरुले स्वर्गीय श्रेष्ठलाई सम्मान तथा पुरस्कृत समेत गरेका छन् ।

देवकोटा स्मृति भवन, नवरंग साहित्यीक प्रतिष्ठान, लेखनाथ पुस्तकालय, सशंक प्रतिष्ठान, त्रिफा राष्ट्रिय पुस्तकालय कन्काई प्रतिष्ठान , समता साहित्यीक परिवार इलामलगायतत दर्जनबढी संघ संस्थाबाट उहाँ पुरस्कृत र सम्मानित हुनुभएको थियो । दिवंगत श्रेष्ठको लामो समयदेखि दुबै मृगौला खराब भएको चिकित्सकहरुले बताएका थिए । उहाँको सातामा दुईपटक डाइलासिस गरिदै आएको थियो । एक साता अघि गम्भीर विरामी भएर विर्तासिटी हस्पिटलमा उपचारार्थ भर्ना हुनुभएको उहाँलाई आइतबार नै डिस्चार्ज गरी घर ल्याइएको थियो ।

घर ल्याएको केही घण्टामै उहाँले जीवनबाट सदाका लागि विश्राम लिनुभयो । उनकी पत्नी निलु श्रेष्ठ, दुई छोरा अनिमेष श्रेष्ठ र अनिशेष श्रेष्ठ र एक छोरी अनिसा श्रेष्ठ हुनुहुन्छ । आज श्रेष्ठको यो भौतिक शरीर हामी माझ नरहेपनि तर उहाँ आफ्नो पत्रकारिता र साहित्य सिर्जनाका कारण सँधै बाँचि नै रहनुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 394

प्रतिक्रिया (०)

सम्बन्धित खबर