Aamsanchar

झापामा १५ हजार ४९ जनाको पीसीआर परीक्षण

Author Image
शनिवार, साउन ३१, २०७७

मेचीनगर। झापामा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेंसँगै अग्रपंक्तिमा खटिएकामध्ये सुरक्षाकर्मी र स्वास्थ्यकर्मी समेत संक्रमित हुन थालेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार शुक्रबारसम्ममा प्राप्त रिपोर्ट अनुसार ४ सय २९ जनामा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फेला परेको छ । उनीहरुलाई उपचारका लागि प्रदेशमा रहेका कोभिड अस्पतालमा पठाईएको थियो । प्राप्त रिपोर्ट अनुसार दुईजना स्वास्थ्यकर्मी र ३६ जना सुरक्षकर्मीमा यसको संक्रमण पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

संक्रमित मध्ये झापाको मेचीनगर—१० स्थित आम्दा मेची अस्पतालमा कार्यरत २९ वर्षीय पुरुष चिकित्सक तथा बाह्रदशी गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत एक स्वास्थ्यकर्मी गरी अहिले सम्म अग्रपंक्तिमा खटिएकामध्ये दुईजना स्वास्थ्यकर्मीमा कोभिड १९ को संक्रमण फेला परेको कार्यालयले जनाएको छ ।

संक्रमितमध्ये एकजना निको भइसकेका छन् भने एकजनाको उपचार जारी रहेको कार्यालयका महामारी रोग फोकलपर्सन जीवन चौलागाईँले जानकारी दिनुभयो । यसैगरी, जिल्लाभरि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना गरी ३६ जना सुरक्षाकर्मीमा संक्रमण देखिएको भएपनि अधिकाँश निको भइसकेको र ४÷५ जना उपचारर्थ अस्पताल भर्ना गरिएकाबताइएको छ ।

शुरुमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु यसको चपेटामा नपरेको भएपनि पछिल्लो समय परिरहेका छन् । संक्रमित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको संख्या बढ्न सक्ने आशंका गरिएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो समय अग्रपंक्तिमा खटिनेमा सवैभन्दा बढी जोखिममा सुरक्षाकर्मी र केही स्वास्थ्यकर्मी नै छन् । यदि स्वास्थ्यकर्मी नै संक्रमित भए उनीहरुसँग दैनिक सेवा लिन जाने सर्वसाधारणहरुमा पनि जोखिम बढ्ने भएकाले सवैभन्दा पहिला कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणमा अग्रपंक्तिमा सक्रिय स्वास्थ्यकर्मी सुरक्षाकर्मीहरुलाई संक्रमणबाट कसरी जोगाउने हो ? स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा नै कोरोनाको संक्रमण देखियो भने कस्ले उपचार र सुरक्षाको सेवा दिने त्यसतर्फ समयमा सचेत हुनुपर्नेमा विशेषज्ञहरुले जोड दिएका छन् ।

यदि वेलैमा सजग र सचेत नभए ठूलो दुर्घटना निम्तिने खतरा रहेको भन्दैं उनीहरुले बेलैमा सवैजना एक भएर यसको नियन्त्रण र रोकथाममा लाग्नुपर्नेमा जोड दिएका छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी विरामीसहित सवै जनस्वास्थ्यका मापदण्ड तथा व्यवहार कडा रुपमा पालना नगर्ने हो भने वा बेलैमा ध्यान दिइएन भने स्वास्थ्य सेवा प्रवाह गर्ने प्रणाली नै ध्वस्त हुने सक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।

कुल संक्रमितमध्ये ३ सय ७२ जना झापामा कोरोना जितेर स्वास्थ्य भएर घर फर्किएका छन् । कार्यालयका महामारी रोग फोकलपर्सन चौलागाईँका अनुसार शुक्रबारसम्म जिल्लाका विभिन्न सामुदायकि, होम क्वारेण्टिन, होल्डिङ सेन्टर तथा समुदाय स्तरका १५ हजार ४९ जनाको पीसीआर परीक्षणका लागि थ्रोड स्वावको नमूना संकलन गरी १ नम्बर प्रादेशिक प्रयोगशाला विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको माईक्रो बायोलोजिकल विभाग तथा मेची प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको थियो । अझै पनि करीव ६ सयको रिपोट आउन बाकी छ । ५७ जना उपचारका लागि कोभिड अस्पतालमा भर्ना भएका छन् ।

झापामा रहेका १५ वटा पालिकाहरुमध्ये नगरपालिकातर्फ सवैभन्दा बढी मेचीनगर नगरपालिकमा एकसय जनामा संक्रमण पुष्टि भएपनि ७९ जना निको भएर घर फर्किसकेको फोकलपर्सन चौलागाईँले जानकारी दिनुभयो । बाकीको उपचार भइरहेको छ । उहाँका अनुसार सवैभन्दा कम शिवसताक्षी नगरपालिकामा ११ जनामा संक्रमण देखिएको भएपनि १० जना निको भएर घर फर्किएका र बाकी एकजनाको उपचार भइरहेको छ । १३ जना संक्रमित भएको विर्तामोड नगरपालिकामा ७ जनाले कोरोनामाथि जीत दर्ता गरेका छन् । बाकीको विभिन्न कोभिड अस्पतालमा उपचार जारी छ ।

भद्रपुर नगरपालिमा १७ जनाको पीसीआर पोजेटिभ हुँदा १० जना उपचारपछि निको भएका छन् । कन्काई नगरपालिकामा १२ जना कोरोना संक्रमित भएपनि उपचार पश्चात सवै निको भइ घर फर्किएका छन् । अर्जुनधारा नगरपालिकामा २२ जना संक्रमित मध्ये १४ जना निको भएका छन् । दमक नगरपालिकामा २० संक्रमितमध्ये ६ जनाको उपचार जारी छ । बाकी निको भएका छन् । यसैगरी, गौरादह नगरपालिकामा १७ संक्रमित मध्ये १२ जना उपचारपछि घर फर्किएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार गाउँपालिकातर्फ सवैभन्दा बढी कचनकवलमा १ सय ३८ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । ती मध्ये १ सय ३५ जना निको भएका छन् । बुद्घशान्ति गाउँपालिकमा १७ जना संक्रमितमध्ये सवै निको भएर घर फर्किएका छन् । उता हल्दीवारी गाउँपालिकाका १२ संक्रमित सवै निको भएका छन् भने कमल गाउँपालिकामा ३ जनामा कोरोना पुष्टि भएपनि सवै निको भएर घर फर्किएका छन् । गौरीगञ्ज गाउँपालिमा २५ संक्रमितमध्ये सवै निको भएका छन् । बाह्रदशी गाउँपालिकामा १६ संक्रमितमध्ये १३ निको भएका छन् भने झापा गाउँपालिकामा ७ जना संक्रमित हुँदा ६ जना निको भएको कार्यालयले जनाएको छ ।

जिल्लामा कार्यालयबाट ६ सय कर्मचारीहरु अहिले फिल्डमा खटिएका छन् । उनीहरले सम्बन्धित पालिकाका जनप्रतिनिधिहरु र स्वास्थ्य शाखाका कर्मचारीहरुसँग समन्वय गरेर काम गरिरहेको चौलागाईँले जानकारी दिनुभयो । खुला सिमाना, पर्याप्त स्रोत साधनको अभाव तथा जनप्रतिनिधिहरुमा स्वास्थ्य ज्ञानको अभाव अहिलेको मुख्यः चूनौती रहेको चौलागाईँको भनाई छ । उहाँले कन्काईमा जडान गरिएको पीसीआर मेशीन तत्काल सञ्चालन गरे निक्कै ठूलो समस्या हल हुने बताउनुभयो । झापाबाट पीसीआर परीक्षणका लागि थ्रोड स्वावको नमूना संकलन गरी १ नम्बर प्रादेशिक प्रयोगशाला विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको माईक्रो बायोलोजिकल विभाग तथा मेची प्रादेशिक अस्पताल भद्रपुरमा पठाइए पनि समयमै रिपोट नआउनाले ठूलो समस्या झेल्नु परेको छ । लापरबाहीले समेत कोरोना फैलिने भएकाले यसतर्फ सवैले ध्यान दिन जरुरी रहेको उहााँके भनाई छ । समुदायमा कोरोना फैलिए कन्ट्याक ट्रेसिङ जरुरी हुन्छ । यसकारण समुदायस्तरमा यसको संक्रमण फैलिनु भनेको सवैभन्दा ठूलो समस्या हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 425

प्रतिक्रिया (०)

सम्बन्धित खबर