Aamsanchar

झापाका खरेलसहित नौ जना खेल पत्रकार पुरस्कृत

Author Image
सोमवार, फागुन १७, २०७७

बिर्तामोड । युवा तथा खेलकुद मन्त्रालयले झापा खेलकुद पत्रकार मञ्चका अध्यक्ष हिमाल खरेलसहित नौजना खेल पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ ।

मन्त्रालयमा  आइतबार आयोजित एक कार्यक्रमका बीच खरेलसहित देशभरका नौजना खेल पत्रकारलाई खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान र खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।

मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान बाँकेका कमल खत्रीलाई प्रदान गरेको छ । पुरस्कारको ५० हजार नगद र प्रमाणपत्र रहेको छ । त्यस्तै, खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार (दलित, महिलातर्फ) दोलखाकी मुना कार्कीलाई प्रदान गरियो । पुरस्कारको राशि २५ हजार नगद र प्रमाणपत्र रहेको छ ।

प्रदेश १ बाट छनोट भएका खरेल झापा टुडे अनलाईका सम्पादक हुन् । उनी विगत १७ वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । खरेल हाम्रो खेलकुद डटकमका सम्वाददाता पनि हुन् । उनलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।

त्यस्तै, खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदेश २ बाट महोत्तरीका रञ्जनकुमार भण्डारी, बाग्मती प्रदेशबाट काठमाडौँका अनिल मल्ल ठकुरी, गण्डकी प्रदेशबाट पाल्पाका माधवप्रसाद अर्याल, लुम्बिनी प्रदेशबाट दाङका मुक्तिबाबु रेग्मी, कर्णाली प्रदेशबाट जुम्लाका भूपेश उपाध्याय र सुदूरपश्चिम प्रदेशबाट डोटीका सीताराम ओझालाई प्रदान गरिएको छ । पुरस्कारको राशि २५ हजार नगद र प्रमाणपत्र रहेको छ ।

युवा तथा खेलकुदमन्त्री दावा तामाङ, मन्त्रालयका सचिव केदार न्यौपाने, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीलगायतले उनीहरुलाई सम्मान तथा पुरस्कृत गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर