

लन्डन- बेलायतमा रोजगारीको सपना देखाएर ‘वर्क परमिट’ दिलाइदिने नाममा नेपालीहरूमाथि भइरहेको ठगी गम्भीर र चिन्ताजनक स्तरमा पुगेको छ। ठगीका घटनाहरू दिनप्रतिदिन बढ्दै गएपछि लन्डनस्थित नेपाली दूतावासले कडा चेतावनी जारी गर्दै पीडितलाई अनिवार्य रूपमा उजुरी दिन आग्रह गरेको छ।

दूतावासका अनुसार प्रायोजक खोजिदिने, छिटो भिसा मिलाइदिने, वा काम पक्का गराइदिने बहानामा लाखौँ रुपैयाँ असुली गर्ने गिरोह सक्रिय छ। विशेषगरी नेपालबाट बेलायत आउन चाहनेहरू ठगीको मुख्य शिकार बनेका छन्। अझ चिन्ताजनक पक्ष के छ भने बेलायतमै बसेर रोजगारी खोजिरहेका नेपालीसमेत यस जालोमा फसिरहेको तथ्य बाहिर आएको छ।
दूतावासले स्पष्ट पारेको छ कि ठगीमा संलग्नहरू बाहिरी मात्र होइन, कतिपय नेपाली मूलका व्यक्तिहरू नै रहेको बुझिएको छ। चिनजान, आफन्त वा साथीभाइको सिफारिसकै भरमा तेस्रो मुलुकका दलालसँग सम्पर्क गराइ ठगी गराउने क्रम बढ्दो छ, जसले नेपाली समुदायभित्रै अविश्वास फैलाइरहेको छ।

नेपाली दूतावासले यस्ता ठगी गतिविधि नेपाल र बेलायत दुवै मुलुकमा गम्भीर अपराध भएको स्मरण गराउँदै पीडितहरू चुप नबस्न कडा आग्रह गरेको छ। ठगीमा परेमा नेपालका सम्बन्धित अनुसन्धान निकाय, बेलायतका स्थानीय प्रहरी तथा नेशनल एन्टी–फ्रड नेटवर्क (एक्सन फ्रड) मा प्रमाणसहित उजुरी दिन दूतावासले निर्देशन दिएको छ।
बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित उजुरी लिएर आउने पीडितको न्यायका लागि दूतावासले पूर्ण सहजीकरण गर्ने स्पष्ट पारेका छन्। उनले भने, “उजुरी नगरेसम्म अपराधीहरू कानुनी दायरामा आउँदैनन्। ठगी रोक्ने एक मात्र उपाय भनेको पीडित स्वयंले आवाज उठाउनु हो।”
दूतावासले समस्यामा परेका नेपालीलाई दूतावासको आधिकारिक इमेल वा +४४–७४०४९३९२७४ नम्बरमा सम्पर्क गर्न आग्रह गर्दै ठगीविरुद्ध सामूहिक रूपमा उभिन सबै नेपालीलाई आह्वान गरेको छ।
पीडितले उजुरी नदिएसम्म ठगी धन्दा रोकिन्न। चुप लाग्नु अपराधीलाई संरक्षण गर्नु सरह हो।

