Aamsanchar

अस्पताल प्रशासन र मृतकका आफन्तबीच सहमति, नोबेल शिक्षण अस्पतालबाट तीन दिनमा उठ्यो महिलाको शव

Author Image
शुक्रवार, असोज ३०, २०७७

विराटनगर –  ट्यूमरको शल्यक्रियापछि मृत्यु भएकी एक महिलाको शव विराटनगरको नोबेल शिक्षण अस्पतालबाट तीन दिनमा आफन्त र परिवारका सदस्यले दाहसंस्कारका लागि बुझेर लगेका छन् । शल्यक्रियाका क्रममा चिकित्सकले लापरबाही गरेकोभन्दै मंगलबारदेखि अस्पतालमै शव छाडिएको थियो । पाठेघरको ट्यूमरको सोमबार शल्यक्रिया गरिएकी सोलुखुम्बु नोचासल्यान–४ की ३५ वर्षीय तारादेवी भट्राईको मृत्यु मंगलबार बिहान भएको थियो । शल्यक्रिया गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने, पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने लगायतका माग राखेर आफन्त र परिवारका सदस्य आन्दोलनमा उत्रिएका थिए ।

अस्पताल प्रशासन र मृतकका आफन्तबीच बिहीबार भएको वार्तामा अस्पतालले किरिया खर्च वापत मृतकका परिवारलाई पैसा दिने र उपचार वापत लागेको रकम फिर्ता गरिदिने सहमति भयो । किरिया खर्च वापतभन्दै एक लाख १० हजार रुपैयाँ उपलब्ध गराएर अस्पतालले औषधिको ९३ हजार र उपचारमा लागेको एक लाख २३ हजार रुपैयाँ फिर्ता गरिदिएपछि शव उठाइएको परिवारका सदस्यले बताएका छन् । बुधबार भएको वार्तामा परिवारका सदस्य र आफन्तले मृतकका तीन सन्तानको लालनपालन र शिक्षादीक्षाको जिम्मा पनि अस्पतालले नै लिनुपर्ने मागराख्दै शव जिम्मा लिएका थिएनन् । अस्पतालले त्यसलाई भने सम्बोधन गर्न नसकिने जवाफ दिएपछि उनीहरुले नाराबाजी, प्रदर्शन र हुलहुज्जत गरेका थिए ।

तारादेवीका श्रीमान ओम भट्टराईका अनुसार शल्यक्रियाका लागि श्रीमतीलाई आइतबार अस्पताल भर्ना गरेर पीसीआर परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएपछि सोमबार बिहान ९ बजेतिर शल्यक्रिया भएको जानकारी दिए । पहिलो शल्यक्रियापछि बाहिर निकाल्दा सामान्य अवस्थामा रहेकी श्रीमतीको मृत्यु हुँदा परिवारका सदस्य र आफन्त आक्रोसित बनेको उनले बताए । आइसीयूमा रहेकी श्रीमतीको रगत नरोकिएकाले पुनः अर्को पटक पनि शल्यक्रिया गर्नुपर्नेभन्दै चिकित्सकले बेलुका पुनः अप्रेशन थिएटरतिर लिएर गएको उनको भनाइ छ । दोस्रो शल्यक्रियापछि भेन्टिलेटरमा लैजानुपर्ने भयोभन्दै अचेत अवस्थामा अक्सिजनसहित अप्रेशन थिएटरबाट चिकित्सकले बाहिर निकालेको र भोलिपल्ट मृत्यु भएको जानकारी दिएको उनले बताए । ओमले सामान्य अवस्थाकी श्रीमतीको चिकित्सकको लापरबाहीले दुई पटकसम्म शल्यक्रिया गर्नुपर्दा मृत्यु भएका कारण तत्काल शब नउठाइएको बताए । ट्यूमर निकाल्ने वहानामा चिकित्सकले आन्द्रानै काटिदिएको उनको आरोप छ ।

शल्यक्रियामा सहभागी स्त्रीरोग विशेषज्ञ प्रा।डा गेहनाथ बरालले भने मृतक महिलाको पाठेघरमा तेस्रो चरण ९स्टेज थ्री० को क्यान्सर भइसकेको बताए । पाठेघरको साइडबाट फैलिएको क्यान्सर पिसाब थैली र आन्द्रासम्म पुगेका कारण ट्यूमरको शल्यक्रिया गरिए पनि बिरामीलाई बचाउन नसकिएको उनको भनाइ छ । शल्यक्रियापछि ट्यूमरभित्र जम्मा भएको तीन लिटर रगत बाहिर गएको जानकारी बरालले दिए । फुट्न सुरु भएर ट्यूमरबाट अलिअलि रसाएर रगत पेटसम्मै आइपुगेको उनको भनाइ छ । प्रा।डा। बरालले शल्यक्रियापछि ट्यूमरमा जम्मा भएको धेरै रगत एकै पटक बाहिर निस्कँदा अवस्था गम्भीर बनेर बिरामीको मृत्यु भएको बताए । ‘बिरामीलाई बचाउनका लागि धेरै मेहनत गर्दै सात पिन्टसम्म रगत चढाइयो,उनले भने, तर पछि शरीरका अंगहरुले काम नै गर्न छाडे ।

ट्यूमर पाठेघरको साइड हुँदै पिसाब थैली र आन्द्रासँग जोडिएका कारण ठूलो मेहनत गरिए पनि शल्यक्रिया गर्दा आन्द्रानै काटिएको कुरा चाहिँ सही नभएको उनले बताए । अस्पताल प्रबन्धक नारायण दाहालले सहमतिपछि मृतकका परिवारका सदस्यले अन्त्येष्टिका लागि शव बुझेर लगेको जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर