Aamsanchar

प्रदेश १ मा संचालनमा आयो नेपालकै पहिलो प्राविधिक विश्वविद्यालय

Author Image
बिहिवार, फागुन १९, २०७८

बिर्तामोड ।  नेपालकै पहिलो प्राविधिक विश्वविद्यालय प्रदेश १ मोरङ बुढीगंगा–४ मा रहेको मनमोहन प्राविधिक विश्वविद्यालय बनेको छ ।   विश्वविद्यालयले स्थापनाको उद्धेश्य, कार्यक्रम र भावी योजनाको बारेमा आज झापाको विर्तामोडमा पत्रकार भेटघाट कार्यक्रम गरेर उक्त जानकारी गराएको हो ।

देशमै पहिलो पटक प्रदेश १ सरकारले स्वायत्त कानुन निर्माण गरेर विश्वविद्यालयको स्थापना गरेको कानूनी सल्लाहकार कोषराज न्यौपानेले बताए । उनका अनुसार प्रदेश १ सरकारले प्रदेशसभाबाट स्वायत्त कानुन निर्माण गरी २०७६ असोज १६ गते प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी विश्वविद्यालयको स्थापना गरेको हो । दुई बर्षअघि नै कानून निर्माण भएको भएपनि थुप्रै नियमावली र निर्देशिका बनाउनु पर्ने भएकाले सञ्चालनका लागि समय लागेको उनले बताए ।

प्राविधिक शिक्षालाई गुणस्तरीय, वैज्ञानिक तथा जीवन उपयोगी बनाउने उद्धेश्यले उक्त विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको स्थापना भएको विश्वविद्यालयका डीन डा= प्रचण्डमान प्रधानले बताए।

अबको आवश्यक्ता प्राविधिक शिक्षाको भएको र इञ्जिनियरिङ विषयको माग रहेको डीन प्रधानले बताए । युवालाई प्राविधिक शिक्षा तर्फ अग्रसर गराउँदै शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नुपर्ने वर्तमान आवश्यकता परिपूर्तिका लागि विश्वविद्यालयको स्थापना भएको उनले बताएका छन् ।

विश्वविद्यालयले स्कुल अफ इञ्जिनियरिङ अन्तर्गत स्नातक तहको सिभिल इञ्जिनियरिङ र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङमा भर्ना खुलाएको छ । प्रत्येक फ्याकल्टीमा ४८ जनाको सिट स्वीकृति लिइएको भएपनि यो बर्ष २४ कोटामा भर्ना लिइने उनले भनाई छ ।

पर्याप्त भौतिक संरचना र गुणस्तरीयतामा जोड नै विश्वविद्यालयको पहिचान रहेको बताइएको छ । न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिन विश्वविद्यालय लागि परेको इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स विभागका कार्यक्रम संयोजक इञ्जिनियर नरेन्द्रकुमार डाँगीले बताए ।

विश्वविद्यालयले प्रदेश १ का लागि मात्र महिला १, लक्षित वर्ग २ र दलित वर्ग १ गरी ४ ओटा कोटा छुट्याएको छ । प्रदेश १ सरकारको अनुदानबाट विश्वविद्यालय सञ्चालन हुने भएकाले प्रदेश १ कै जनतालाई लाभ पुर्याउन कोटा छुट्याइएको सिभिल इञ्जिनियरिङ विभागका कार्यक्रम संयोजक डाक्टर दिप रञ्जन डंगोलले जानकारी दिए । २४ सिटमध्ये विभिन्न कोटासहित १५ कोटा आरक्षित र ९ कोटा खुल्ला भएको उनले बताए ।

विश्वविद्यालयले ४ बर्षे स्नातक तह अन्तर्गत सिभिल इञ्जिनियरिङमा नेपाली विद्यार्थीका लागि ५ लाख ८० हजार, विदेशीका लागि ८ लाख उनान्चार हजार आठ सय र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङमा नेपालीका लागि ५ लाख ७० हजार र विदेशी विद्यार्थीका लागि ८ लाख ३९ हजार आठ सय रुपैँया शुल्क तोकेको छ । ३० जना महिला विद्यार्थीका लागि होस्टेल क्षमता रहेको र प्रति महिना आवास शुल्क ६ सय रुपैँया तोकिएको छ । आगामी चैत्र २ गतेसम्म भर्नाका लागि आवेदन खुल्ला गरिएको र विलम्ब शुल्क तिरेर थप ७ दिन भित्रमा आवेदन दिन सकिने छ ।

विश्वविद्यालयले हाल स्कुल अफ इञ्जिनियरिङ सञ्चालन गर्न लागेको भएपनि भविष्यमा स्कुल एप्लाइड साइन्स एण्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एण्ड एप्लाइड हेल्थ साइन्सेज सञ्चालन गर्ने योजना रहेको डीन प्रधानले जानकारी दिए । विश्वविद्यालयले दश बर्षे कार्य योजना अन्तर्गत तीन वटा स्कुल अन्तर्गत स्नातक, स्नातकोत्तर र विद्यावारिधी गरी २८ वटा बिषयहरु सञ्चालन गरी २ हजार ८ सय ३१ जना विद्यार्थी उत्पादन गर्ने लक्ष्य राखेको जनाइएको छ । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी गणेश लम्सालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 803

प्रतिक्रिया (०)